आजबाट खुले कार तथा मोटरसाइकलका शोरुम, कस्तो रहला विक्री

काठमाडौं । बैशाख १६ गतेदेखि बन्द रहेका उपत्यकाका सवारी साधन विक्री केन्द्रहरु आजबाट खुल्ला भएका छन् । स्थानीय प्रशासनले हप्तामा ३ दिन खोल्न पाउने व्यवस्था गरेसँगै आजबाट शोरुमहरु खुल्ला भएका हुन् ।

उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको निर्णय अनुसार हप्तामा तीन दिन आइतबार, मंगलबार र बिहिबार गाडीका शोरुमहरु खुल्ला हुनेछन् ।

नेपालमा करिब २ दर्जन ब्राण्डका कार तथा २ दर्जनभन्दा बढी मोटरसाइकल तथा स्कुटर ब्राण्डले आफ्ना उत्पादन विक्री गर्दै आएका छन् । अघिल्लो वर्षको लकडाउनपछि निकै राम्रो संख्यामा मोटरसाइकल तथा कारको विक्री भएको थियो । तर, यस वर्षको लकडाउनपछिको अवस्था के हुने भन्ने विषयमा अन्योलता रहेको पाइन्छ ।

‘अघिल्लो वर्ष लकडाउनपछि निकै राम्रो विक्री भएको थियो । तर, यस पटक अवस्था फरक छ । कसरी बजार अगाडि जान्छ अहिल्यै भन्न सक्ने अवस्था छैन’, एक गाडी आयातकर्ताले भने ।

उनका अनुसार मानिसको आम्दानीको स्रोत छैन । आम्दानी विना सवारी साधान किन्ने आँट कमैले गर्ने हुँदा बजार कहाँ जान्छ भन्न सक्ने अवस्था छैन ।

आर्थिक वर्ष २०१९/२० को तुलनामा २०२०/२१ मा करिब ५ हजार यूनिटले कार र ९० हजार यूनिटले मोटरसाइकल तथा स्कुटरको आयात घटेको थियो । यस्तोमा आगामी वर्ष अझै संकट पूर्ण रहने व्यवसायीहरुले अनुमान लगाएका छन् ।


Back_to_top