दशैंको मुखमा अफ्ठ्यारो अवस्थामा मोटरसाइकल विक्रेता, उपभोक्ता भने मूल्य बढ्ने चिन्तामा

काठमाडौं । सरकारले एसेम्बल र पूर्ण तयारी मोटरसाइकलको आयातमा फरक अन्तःशुल्क लगाएसँगै मोटरसाइकल विक्रेता कम्पनीहरु समस्यामा परेका छन् । सरकारले प्रतिस्थापन विधेयक मार्फत गत शुक्रबार रातिबाटै बढेको अन्तःशुल्क बमोजिम भन्सार पास गराउन थालेसँगै विक्रेता कम्पनीहरु नयाँ मूल्य कति राख्ने भन्ने विषयमा छलफलमा जुटी सकेका छन् ।

मोटरसाइकल विक्रेताहरुले दशैं स्कीम संचालन सुरु गरिसकेको समयमा भएको अन्तःशुल्क वृद्धिलाई कसरी व्यवस्थापन गर्ने भन्ने अन्योलता विक्रेताहरुमा देखिन्छ । अधिकांश कम्पनीले दशैं स्कीम संचालन गरिरहेका छन् ।

अहिले पूर्णरुपमा नेपालमा नै एसेम्बल गर्ने कम्पनी बजाज हो । बजाजले २२० सीसी क्षमता एभेन्जर बाहेक अन्य सबै मोडल नेपालमा नै एसेम्बल गर्दै आएको छ । यस्तोमा उसलाई सरकारले लिएको नयाँ नीतिले फाइदा पुगेपनि बजाज बाहेकका सबै कम्पनीलाई मूल्य बढाउनु पर्ने दवाव परेको हो ।

टीभीएसले नेपालमा एसेम्बल सुरु गरेको भएपनि उसको अधिकांश मोडल अहिले पनि भारतबाट पूर्ण तयारी भएरै आएको छ । कम्पनीले करिब ३० प्रतिशत मात्रै नेपालमा एसेम्बल भएको कम्पनीको भनाई छ । यस्तोमा उसलाई नयाँ मूल्य निर्धारण गर्न झनै कठिन भएको देखिन्छ ।

होन्डाले यूनिकर्न १५० मा २० हजार मूल्य बढाएर अन्तःशुल्कको असर ग्राहकमा पठाउन सुरु गरिसकेको छ । कम्पनीसँग अन्य मोडल स्टकमा रहेपनि यूनिकर्न १५० नयाँ अन्तःशुल्कमा छुटे अनुसार विक्री गर्नु पर्ने अवस्था रहेको भन्दै मूल्य बढाएको हो । कम्पनीले यूनिकर्न १५० को अलावा सिवी हाइनेस ३५० र सिवी ३५० आरएसको मूल्यपनि केही बढाएको छ ।

यामाहाले पनि नयाँ मूल्यसूची सार्वजनिक गर्न तयारी गरिरहेको जनाएको छ । कम्पनीले विक्री गर्ने एफजेड सिरिज, एमटी १५, एफजेड एस, आर १५ भी थ्रि लगायतका मोडलको मूल्य बढाउनु पर्ने जनाएको छ ।

हिरोले विक्री गर्ने १५० र २०० सीसी क्षमताका मोटरसाइकलको मूल्यपनि एक दुई चार दिन भित्रै बढाउने तयारी गरेको छ । हिरोको सर्वाधिक विक्री हुने मध्येको एक एक्सपल्स २०० को मूल्य पनि चाँडै बढ्ने बताइएको छ ।

उपभोक्तमा नयाँ चिन्ता

दशैंमा कम्पनीहरुले ल्याउने स्कीममा नयाँ मोटरसाइकल किन्ने योजना बनाएर बसेका उपभोक्त तत्कालै मूल्य बढ्ने कुराले चिन्तीत बनेका छन् ।

नयाँ बानेश्वरमा भेटिएका सरोज मिश्रा भन्छन्, ‘दशैं पेश्कीको रकमले नयाँ मोटरसाइकल किन्ने योजना बनाएको थिए । सरकारले कर बढायो, अब मोटरसाइकलको मूल्य बढ्छ भन्ने सुनेको छु ।’


Back_to_top