काठमाडौं । फक्सवागेन ग्रुपले विद्युतीय गाडीको बजार माग सम्बोधन गर्न कम मूल्यका इलेक्ट्रीक कार निर्माण गर्ने प्लेटफर्म तयार गरेको छ । साना इलेक्ट्रीक कार निर्माणको लागि बनाइएको मोडुलर इलेक्ट्रीक ड्राइभ म्याट्रीक्स ‘एमइबी’ प्लेटफर्मलाई कम्पनीले जर्मनीको म्यूनिख मोटर शोमा सार्वजनिक गरेको हो ।
कम्पनीकाे ‘एमइबी स्मल’ प्लेटफर्ममा निर्माण हुने पहिलो कार सन् २०२५ मा बजारमा आउने छ । फक्सवागेनले दिएको जानकारी अनुसार ‘एमइबी स्मल’ प्लेटफर्मको डिजाइन नै साना विद्युतीय गाडी उत्पादनको लागि भएको हो ।
यो प्लेटफर्ममा बन्ने गाडीमा २६५० एमएमभन्दा छोटो ह्वीलवेसको प्रयोग हुन्छ । यो प्लेटफर्मसँगै कम्पनीले आइडी लाइफ कन्सेप्ट पनि सार्वजनिक गरेको छ । संभवत यो कम्पनीको ‘आइडी १’ मोडल हुने छ ।
नयाँ प्लेटफर्ममा कम्पनीले ४८ किलोवाट आवरदेखि ६२ किलोवाट आवरसम्मको व्याट्री प्याक प्रयोग गर्नेछ । उक्त व्याट्रीले एक पटकको फुल चार्जमा ३०० देखि ४०० किलोमिटरसम्म रेञ्ज प्रदान गर्छ । कम्पनीले अहिले प्रयोग गरिरहेको स्टायडर्ड प्लेटफर्ममा ८२ किलोवाट आवरसम्मको व्याट्री प्रयोग गर्दै आएको छ ।
कम्पनीले सार्वजनिक गरेको आइडी लाइफ कन्सेप्टमा १७२ किलोवाट क्षमताको मोटर जडान हुनेछ । यसको पीक टर्क भने २९० न्यूटन मिटर रहने कम्पनीले जनाएको छ ।

