मोटरसाइकलको मूल्य बढेर ग्राहक हैरान

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य वृद्धि भइरहेको मोटरसाइकलको मूल्य नेपालमा पनि अझै बढ्ने संकेत देखिएको छ । कोभिड १९ को संक्रमण सुरु भएपछि लगातार मूल्य वृद्धि भइरहेको छ ।

भारतमा उत्पादन भएका अधिकांश मोटरसाइकल नेपाली बजारमा पनि विक्री भइरहेको र भारतमा नयाँ आर्थिक वर्ष २०२१/२२ सुरु भएसँगै अधिकांश मोटरसाइकल कम्पनीले मूल्य वृद्धि गरेको कारण त्यसको असर नेपालमा पनि पर्ने देखिएको हो ।

नयाँ आर्थिक वर्षसुरु भएसँगै भारतमा १ हजारदेखि १५ हजार भारतीय रुपैयाँसम्म मोटरसाइकलको मूल्य वृद्धि भएको छ । यसले नेपाली ग्राहकलाई पनि छिट्टै धेरै मूल्य तिर्नु पर्ने बाध्यतामा पार्न सक्ने अटो विक्रेता कम्पनीहरुको भनाई छ ।

भारतमा एक हजार मूल्य बढ्नु भनेको नेपालमा ३ हजार मूल्य बढ्नु हो भन्दै एक मोटसाइकल विक्रेता भन्छन्, ‘हामी कहाँ उत्पादन हुने होइन, भारतमा बढेर आएसँगै यहाँ पनि मूल्य बढ्छ ।’

पछिल्लो दिनमा लगातार बढ्दै गएको प्लाष्टीक, फलाम र इन्धनको मूल्य वृद्धिको असर अहिले समग्र अटोमोवाइलको क्षेत्रमा पर्दै गएको छ । यसले ग्राहकलाई थप रकम तिर्नु पर्ने वाध्यतामा पारेको कारण सानो मोटरसाइकल किन्ने ग्राहकलाई पनि थप आर्थिकभारमा पारेको छ ।

विगत ८ महिनामा नेपालमा मोटरसाइकल विक्री गर्ने कम्पनीहरुले २ देखि ६ पटकसम्म मूल्य बढाई सकेका छन् ।


Back_to_top