अटोमोवाइल क्षेत्रका समस्या समाधान गर्न प्रधानमन्त्री सकारात्मक

काठमाडौं । नाडा अटोमोवाइल एशोसिएशन अफ नेपाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेरे अटोमोवाइल क्षेत्रको समस्या समाधान गरिदिन आग्रह गरेको छ । नाडा अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको व्यवसायीहरुले आफ्ना समस्या राखेका हुन् ।

भेटघाटमा नाडा अध्यक्ष चौधरीे अहिले अटोमोवाइल क्षेत्र निकै कमजोर अवस्थामा पुगेको बताउँदै अटो लोनमा रहेको जोखिम भारलाई १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गर्न माग गरेका थिए ।

अहिले रहेको पेट्रोलियम कारमा मूल्यको ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने ब्यवस्थालाई परिवर्तन गरी ७५ प्रतिशतसम्म फाइनान्स सुविधा उपलब्ध गराउने ब्यवस्था गर्न नाडाले माग गरेको छ ।

भारतिय मालवाहक ट्रकलाई ७२ घण्टासम्म निर्र्वध रुपमा नेपालमा प्रवेश गर्न दिनाले नेपालको अटोमोवाइल व्यवसायमा नकारात्मक असर पर्न गएकोले त्यसलाई व्यवस्थित गर्न पनि नाडाले माग गरेको हो ।

नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नेपालको अटोमोवाइल उद्योग समस्या र समाधानहरु बारे प्रिजेण्टेशन मार्फत विस्तृत रुपमा प्रधानमन्त्रीलाई जानकारी गराएको नाडाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

छलफलमा प्रधानमन्त्रीले विद्युतिय सवारी साधन, चार्जिङ्ग स्टेशन र नेपालमा अटोमोवाइल सम्बन्धी उद्योगहरुको सम्भावनाका सम्बन्धमा विशेष चासो राख्दै प्रस्तुत समस्याहरुको समाधानका लागि आवश्यक पहल गर्ने बताए ।

उक्त छलफलमा नाडाका बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल लगायतको उपस्थिति थियो ।


Back_to_top