काठमाडौं । विश्वको तेस्रो ठूलो अटोमोवाइल बजारमा जमेका तीन कम्पनी सुजुकी, हुन्डाई र टाटाले नयाँ इलेक्ट्रीक एसयूभी ल्याउने भएका छन् । यी तीनवटै कम्पनीले ल्याउने नयाँ मोडल एउटै सेग्मेन्टमा आउन लागेको हो ।
भारतीय बजारमा आउने यी तीन मोडल नेपालमा पनि आउने छन् । नेपाल आउने भएको कारण यी मोडल बारे नेपालमा पनि चासो हुनु स्वभाविक हो ।
प्रिमियम फिचरको साथ बजारमा आउने सुजुकी ईभीएक्स, हुन्डाई क्रेटा इलेक्ट्रीक र टाटा कर्भ इलेक्ट्रीक मोडल अहिले नै धेरैले चासो र चर्चा गरिरहेको मोडल हो ।
टाटा कर्भ इभी
टाटा मोटर्सले नयाँ ल्याउन लागेको इलेक्ट्रीक एसयूभी कुप्पे डिजाइनमा आउने छ । कम्पनीले यसलाई पेट्रोल, डिजेल तथा इलेक्ट्रीक तीनवटै इन्धनबाट चल्नेगरी आउने छ ।

टाटाले कर्भ ईभीलाई ‘सेकेण्ड जेनेरेशन प्लेटफर्म’मा उत्पादन गर्नेछ । कम्पनीले कर्भ ईभी सिंगल मोटर र डिउल मोटर सेटअपमा ल्याउने रिपोर्टहरु बाहिर आएका छन् । आधुनिक डिजाइनको कनेन्टेड डीआरएल र टेललाइट रहने छ ।
यसको क्याविन निकै फिचर लोडेड हुनेछ । आगामी महिना बजारमा आउने कर्भ ईभी सन् २०२४ को मध्यबाट बिक्री सुरु हुनेछ । कम्पनीले यसको मोटर र व्याट्रीको बारेमा आधिकारीक जानकारी दिएको छैन ।
हुन्डाई क्रेटा ईभी
हुन्डाई क्रेटा अटो बजारमा चिनाइरहनु पर्ने नाम होइन । केही दिनअघि मात्र फेसलिफ्ट मोडल लन्च गरेको कम्पनीले क्रेटा ईभीको परिक्षणलाई तिब्र बनाएको छ ।

हुन्डाई क्रेटा ईभीमा क्लोज ग्रिल र ग्रिलमै चार्जिङ पोर्ट हुनेछ । नयाँ क्रेटा कै जस्तो इन्टेरियर हुने अनुमान गरिएको ईभी भेरियन्टमा आयोनिक–५ को जस्तो फ्यूचरिस्टीक टेक्नोलोजीको अनुभव गर्न पाइनेछ ।
विभिन्न रिपोर्टहरुका अनुसार क्रेटा ईभीमा ४५ किलोवाट आवरको ब्याट्री प्याक रहनेछ । यसले अधिकतम रेन्ज ४०० किलोमिटर हुने बताइएको छ । सन् २०२४ बाटै यसको पनि बिक्री सुरु हुने अनुमान गरिएको छ ।
मारुती सुजुकी ईभीएक्स
जापनीज अटोमोवाइल कम्पनी सुजुकीको पहिलो ग्लोवल इलेक्ट्रीक भेहिकलको रुपमा लन्च हुन लागेको ईभीएक्सको विश्वव्यापी चर्चा भइरहेको छ । टोयोटाको २७ पीएल प्लेटफर्ममा निर्माण भइरहेको एसयूभीमा ६० किलोवाट आवरको ब्याट्री प्याक हुनेछ ।
एक पटकको सिंगल चार्जमा ५०० किलोमिटर हाराहारी रेन्ज रहने ईभीएक्स दुई ड्राइभिङ सिस्टममा आउने छ ।

ईभीएक्स सिंगल र डिउल मोटर सेटअप सहित अल ह्वील ड्राइभमा आउने छ । यो एसयूभी केही हदसम्म अफरोड फ्रेन्ड्ली समेत हुनेछ । ‘वर्न ईभी आर्किटेक्चर’मा बनेको ईभीएक्समा क्यावीन कम्फर्ट अत्याधिक रहनेछ ।
भारतीय बजारमा मारुती सुजुकीको ब्राण्ड लोयल्टीका कारण ईभीएक्स ईभीको लागि ठूलो गेम चेन्जर हुने अनुमान गरिएको छ ।


