काठमाडौं । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग संचालनका लागि सुरुङमार्ग संचालनका तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय टेन्डरको म्याद दोस्रो पटक थपिएको छ ।
आयोजनाले शुक्रबार एक सूचना प्रकाशित गर्दै आवेदन दिने म्याद १४ दिन थप गरेको हो । पहिलो पटक थपिएको म्याद पुस १६ गतेसम्म तोकिएकोमा पुनः दुई साता थपेर पुस ३० गते पुर्याइएको हो ।
आयोजनाले कात्तिक १६ गते बोलपत्र आह्वान गर्दै पुस २ गतेसम्म आवेदन दिने म्याद तोकेको थियो । सुरुङमार्ग सम्पन्न भइसके पनि संचालनका लागि कम्पनी छनोटमा ढिलाइ भएको हो ।
नागढुंगा सुरुङमार्ग आयोजनाका निर्देशक सौजन्य नेपालले सेवा प्रदायक छनोटका लागि टेन्डरको म्याद दोस्रो पटक दुई साता थपिएको बताए । उनका अनुसार बोलपत्र सम्बन्धी कागजातहरूमा सामान्य संशोधन गरिएकाले म्याद थपिएको हो ।
‘यसअघि नेपाली-विदेशी कम्पनीकाे सहकार्यका लागि केही समय थपिएको थियो । यही बीचमा बोलपत्रमा आवश्यक पर्ने कागजात सम्बन्धी व्यवस्थामा सामान्य संशोधन गरियो । बोलपत्र संशोधन भएपछि केही समय थप्नुपर्छ भन्ने मान्यता छ । सोही अनुसार टेन्डर म्याद थपिएको हो,’ उनले मेरोअटोसँग भने ।
आयोजनाले गत मंसिर २६ गते ५ वर्षका लागि सुरुङमार्ग संचालनका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुभवी तथा सक्षम सेवा प्रदायक छनोटका लागि टेण्डर आह्वान गरेको थियो ।
सुरुङमा अत्याधुनिक प्रणाली समावेश रहेको तर सडक विभागको हालको कार्यबोझ तथा सीमित अनुभव र उपलब्ध जनशक्तिबाट सुरुङ संचालन एवम् मर्मत कठिन हुने भएकाले विशेष तालिम प्राप्त दक्ष जनशक्तिमार्फत संचालनका लागि अन्तर्राष्ट्रिय प्रतिश्पर्धाबाट सेवा प्रदायक छनोट गर्न लागिएको हो ।
नेपालकै पहिलो यस सुरुङमार्ग निर्माणको काम सकिएको छ । सुरुङ मार्गमार्फत सवारी साधन चलाउन सक्ने अवस्था भए पनि दक्ष जनशक्ति एवम् सुरक्षाका कारण संचालनमा आउन सकिरहेको छैन ।
सुरुङ २४ सै घण्टा संचालन गर्नुपर्ने हुनाले दुर्घटना, आगलागी वा प्रणाली बिग्रिएमा तत्कालै आपत्कालीन सेवा आवश्यक हुन्छ । सेवा प्रदायकले शिफ्ट प्रणालीमा कर्मचारी खटाउने, आपत्कालीन टोली स्थापना गर्ने हुनाले समयमै सेवा दिने व्यवस्था गर्न सक्छ । यसका लागि १५० जनाको दरबन्दी प्रस्ताव गरिएको छ ।
सुरुङ संचालन तथा मर्मत प्रमुखको नेतृत्वमा कर्मचारी रहने छन् । सुरक्षा व्यवस्थापन युनिटमा सबैभन्दा बढी ६४ जना कर्मचारी रहने व्यवस्था गरिएको छ । त्यसपछि टोल उठाउन ५४ जना कर्मचारी रहनेछन् । ट्राफिक सुविधा अनुगमन तथा नियन्त्रणका लागि १४ जना, सिभिल संरचना तथा अन्य संरचना मर्मतका लागि ८/८ जना कर्मचारी रहने व्यवस्था गरिएको छ ।
मुख्य सुरुङ मार्गको लम्बाइ २.७ किलोमिटर र आपत्कालीनको २।६ किलोमिटर रहेको छ । सरकारले सुरुङमार्गबाट गुड्ने सवारी साधनका लागि सडक उपभोग दस्तुर (टोल) तोकिसकेको छ ।

