काठमाडौं । मोरिस ग्यारेज (एमजी)को आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले नयाँ एसयूभी ‘एमजी एस सिक्स’ नेपाल ल्याउने तयारी थालेको छ । कम्पनीले अन्तर्राष्ट्रिय बजारमा उपलब्ध हुन थालेको एमजी सिक्स नेपाल ल्याउने भएको हो ।
एमजी एस सिक्स रेन्जको कारण निकै चर्चामा रहेको मोडल बन्दैछ । डब्लूएलटीपी टेस्टमा सिंगल चार्जमै ५३० किलोमिटर रेन्ज दिने ७७ किलोवाट आवरको एनएमसी ब्याट्री यसमा पाउन सकिन्छ ।
एमजी एस सिक्स ६२.२ किलोवाट आवरको ब्याट्री अप्सनमा पनि उपलब्ध छ । जसमा १५१ किलोवाटको रियर ह्वील मोटर रहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा एमजीले आफ्नो नयाँ एसयूभी रियर ह्वील ड्राइभ र अलह्वील ड्राइभ मोटरमा उपलब्ध गराएको छ । नेपाली बजारमा भने रियर ह्वील ड्राइभमा नै ल्याउने छ । नेपाल आउने एमजी सिक्सको मोटर पावर कति हुन्छ अहिल्यै एकिन साथ भन्न सकिने अवस्था छैन ।
चीनमा भने रियर ह्वील मोटर भर्सन १८० किलोवाट र अल ह्वील भर्सन २६६ किलोवाट क्षमताको मोटरमा उपलब्ध छ । राइट ह्याण्ड ड्राइभ ड्राइभिङ सिस्टम रहेको सिंगापुरमा १०९ किलोवाट क्षमतामा छिट्टै बिक्री सुरू हुँदैछ ।

ब्याट्री साइजको आधारमा निकै ठूलो एमजी सिक्सले १४४ किलोवाट क्षमताको डीसी चार्जर सपोर्ट गर्छ । उक्त चार्जरले ३८ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्ने कम्पनीको दाबी छ ।
गाडीको एक्सिलिरेसन पनि तिब्र छ । यसको अल ह्वील भर्सनलाई शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको स्पीड भेट्न केबल ५.१ सेकेण्ड लाग्छ भने रियर ह्वील ड्राइभ भर्सनलाई ७.३ सेकेन्ड मात्रै लाग्छ ।
एमजीले यसको क्याविन धेरै हदसम्म एमजी फाइभमा आधारित रहेर तयार पारेको छ । ड्यासबोर्डमा १२.८ इन्चको स्क्रीन, ११ वटा स्पीकर, हिटेड सिट, पानारोमिक सनरुफ, अगाडि फ्रन्ट फ्रङ्क्स उपलब्ध छ ।

टेक्नोलोजीका हिसाबले पनि एमजी सिक्स निकै बलियो छ । आवश्यकता अनुसार मिलाउन सकिने रिजेन, वान पेडल ड्राइभिङ, आइएम सिक्समा दिइएको अप्सनल रेन नाइट मोड पाउन सकिन्छ ।
बाहिरी डिजाइनमा अगाडिबाट एमजी फाइभको धेरै कुरा समान जस्तै लाग्ने एसयूभी पछाडिबाट भने निकै भिन्न लाग्छ । ठ्याक्कैभन्दा एमजी सिक्स एक ‘पर्पर’ एसयूभी हो ।

