नाइमाले यातायात विभाग र ट्राफिकलाई गर्यो आपतकालीन सहयोग

काठमाडौं । नेपाल अटोमोबाल इम्पोर्टर्स एण्ड म्यान्यूफ्याकचरर्स एसोसिएशन (नाइमा)ले यातायत व्यवस्था विभाग र ट्राफिक प्रहरीलाई आपतकालीन सहयोग प्रदान गरेको छ ।

गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनको क्रममा क्षतिग्रस्त विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई अत्यावश्यक सामग्री उपलब्ध गराएको हो ।

नाइमा अध्यक्ष रितु सिंह वैद्य, बोर्ड सदस्य यमुना श्रेष्ठ, कार्यकारी निर्देशक राजकुमार दुलाल सहितको टोलीले मंगलबार सो हस्तान्तरण गरेको हो ।

नाइमाले यातायात व्यवस्था विभाग मीनभवनको मुख्य भवनको सम्पूर्ण झ्याल र ढोकाहरूको पुननिर्माण गरिदिएको छ । त्यस्तै, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई फर्निचर, फर्निसिङ, कम्प्युटर, प्रिन्टर लगायतको सहयोग उपलब्ध गराइएकोे अध्यक्ष वैद्यले बताइन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले आपतकालीन अवस्थामा प्राप्त नाइमा को सहयोग अत्यन्तै महत्वपूर्ण रहेको र सोही सहयोगको कारण विभागले पुनः आफ्नै कार्यालयबाट सेवा संचालन गर्न सक्षम भएको बताउँदै संस्थाप्रति आभार व्यक्त गरे ।

यसैगरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले नाइमाबाट प्राप्त संस्थागत र सदस्यहरूद्वारा गरिएको आपतकालीन सहयोगको उच्च प्रशंसा गरे ।

उनले स्थापनाको छोटो समयमै नाइमाले ट्राफिक कार्यालयसँग दीर्घकालीन सहकार्य र साझेदारी स्थापना गर्न सफल भएको उल्लेख गर्दै संस्थालाई ट्राफिक शिक्षा र व्यवस्थापनको एक भरपर्दो सहयात्रीको रुपमा चित्रण गरे ।

नाइमा अध्यक्ष वैद्यले संकटको घडीमा सानो सहयोग गर्न पाएकोमा गौरवान्वित भएको बताइन् । उनले सार्वजनिक सेवा प्रवाहमा संलग्न निकायहरूसँग सहकार्य गर्नु नाइमाको कार्यगत अवधारणा रहेको र आगामी दिनहरूमा यस्तो सहकार्यलाई अझ सुदृढ बनाउँदै लगिने प्रतिबद्धता जनाइन् ।


Back_to_top