नेपाल एयरलाइन्सले निःशुल्क टिकटको मिति सारिदिने

काठमाडौं । नेपाल एयरलाइन्सले टिकटको मिति हेरफेर गर्दा शुल्क नलिने भएको छ ।

एयरलाइन्सले मंगलबार एक विज्ञप्ति जारी गर्दै बाढीपहिरोका कारण यातायात सेवा अवरुद्ध भई नियमित उडान हुन नसकेको अवस्थालाई मध्येनजर गर्दै यात्रुलाई निःशुल्क टिकटको मिति सार्ने सक्ने व्यवस्था गरिएको जानकारी गराएको हो ।

एयरलाइन्सका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट नेपाल एयरलाइन्सका सबै अन्तर्राष्ट्रिय उडानका यात्रुहरूलाई एक पटक निःशुल्क मिति परिवर्तन गर्न पाउने छन् । सामान्य अवस्थामा टिकटको मिति सार्दा शुल्क लाग्ने भए पनि अहिले यात्रुले कुनै अतिरिक्त शुल्क तिर्नु नपर्ने एयरलाइन्सले जनाएको छ ।

२०८२ असोज १८ गतेदेखि २१ (अक्टोबर ४ देखि ७) सम्मको टिकट काटेका यात्रुहरुले यो सुविधा पाउने छन् । प्रभावित यात्रुहरूले आगामी कात्तिक १४ (अक्टोबर ३१) भित्र पुनः अर्को मितिको टिकट लिनुपर्नेछ ।

थप जानकारीको लागि केन्द्रीय कार्यालयमा सम्पर्क गर्न एयरलाइन्सले अनुरोध गरेको छ ।

यसअघि निजी क्षेत्रको हिमालय एयरलाइन्सले पनि निःशुल्क टिकटको मिति परिवर्तन गर्न सक्ने घोषणा गरेको थियो ।


Back_to_top