नेपाली छोरीले कोरेको कारको चित्रले ५ लाख बढीलाई उछिन्दै जित्यो अवार्ड

काठमाडौं । विश्वका ७८ देशमा कोरिएका ५ लाख ३० हजार ड्रिम कारको तस्विर मध्येबाट उत्कृष्ट ‘आर्टिफिसियल इन्टेलिजेन्स वेस कार’को अवार्ड नेपालकी छोरीले जित्न सफल भएकी हुन् ।

टोयोटाले ड्रिम कार आर्ट प्रतियोगीता विश्वका ७८ देशमा आयोजना गर्दै आएको छ । सन् २००४ बाट सुरु भएको यो प्रतियोगीताको फाइनलमा गएर उपहार विजेता बनेको नेपालबाट पहिलो पटक हो ।

टोयोटाले विद्यार्थीलाई उमेर समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराउँदै आएको छ । जहाँ समूह ए अन्तर्गत ६ वर्षसम्मका बालबालीका, समूह बी अन्तर्गत ७ देखि १२ वर्षसम्मका बालबालीका र समूह सी अन्तर्गत १३ देखि १५ वर्ष उमेरका बालबालीकाले प्रतिस्पर्धा गर्ने गर्छन् ।

नेपालले विजेता बनेको समूह सी अन्तर्गत उमेर समूहबाट हो । बुटवलको निकिता भट्टराईले यो उपाधि जितेकी हुन् । उनले टोयोटा मोटर्स कर्पोरेशनको तर्फबाट ३ हजार डलर नगद पुरस्कार समेत प्राप्त गरेकी छिन् ।

उनी विजेता भएसँगै नेपालको लागि टोयोटाको आधिकारीक विक्रेता यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले एक कार्यक्रम आयोजनागरी शिल्ड तथा सर्टिफिकेट वितरण गरेको छ । उक्त वितरण कार्यक्रममा यूटिएसका प्रबन्ध निर्देशक ऋतु सिंह वैद्य, बरिष्ठ निर्देशक कैलासभक्त राजभण्डारी र महाप्रबन्धक महेश कुमार यमको उपस्थिति रहेको थियो ।

हाल सेन्ट जेभियर्समा ए लेवल अध्यनरत निकिता भट्टराईले बुटवलको एभरेष्ट स्कुलबाट एसइइ पास गरेकी हुन् । उनि चित्रकलामा आफ्नो रुची रहेको बताउँछिन् ।


Back_to_top