नेटाको बिक्रीमा उछाल, जोर्डनमा पनि बिक्री सुरू

काठमाडौं । चीनको स्टार्टअप इलेक्ट्रीक भेहिकल कम्पनी होजोनको कार बिक्रीमा उछाल आएको छ । कम्पनीले सन् २०२३ को फेब्रुअरीमा १० हजार ७३ यूनिट कार बिक्री गरेको हो ।

यो जनवरीको तुलनामा ६७.४४ प्रतिशत धेरै हो । होजोनको उत्पादन नेटा सिरीजका कारहरू जनवरीमा ६ हजार १६ यूनिट बिक्री भएको थियो ।

होजोन मोटर्सले नेटा भी, नेटा यू तथा नेटा एस फ्ल्यागसिप सेडान गरी तीनवटा मोडलका कारहरू बिक्री गर्दै आएको छ । फेब्रुअरीमा नेटा एस सेडान २ हजार ४८ वटा बिक्री भएको थियो । बाँकी ८ हजार २५ यूनिट भने नेटाभी र नेटायुको बिक्री भएको हो । गत जनवरीमा होजोनले आफ्ना सबै मोडलको कारहरूको मूल्य अधिकतम ८७० डलरसम्मले बढाएको थियो ।

होजोन मोटर्सले नयाँ नेटाई मोडलको स्पोर्टस कार बनाउने घोषणा गरिसकेको छ । यसको मास प्रडक्सन भने यसै वर्षको मध्यबाट सुरू हुने जनाइएको छ । सन् २०२२ मा कुल १ लाख ५२ हजार यूनिट बिक्री गरेको नेटाले यस वर्ष ३ लाख यूनिट बिक्री गर्ने लक्ष्य राखेको छ ।

नेटा ब्राण्डका कारहरू चीनसहित आसियन, दीक्षण एशिया र मध्यपूर्वी एशियन देशहरूमा बिक्री भइरहेको छ । होजोनले फेब्रुअरी २८ देखि मध्यपूर्वी मुलुक जोर्डनमा समेत नेटा यू र नेटा भी मोडलका कारहरूको निर्यात सुरू गरेको छ ।


Back_to_top