सुजुकीले तीन स्कुटरमा गर्‍यो अपग्रेड, पेट्रोलमा २०% इथानोल मिसाउन सकिने

काठमाडौं । चर्चित जापानी मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी सुजुकीले भारतमा उत्पादन हुने तीन नयाँ स्कुटरलाई अपग्रेड गरेर सार्वजनिक गरेको छ । कम्पनीले नेपालमा समेत विक्री वितरण हुँदै आएको एक्सेस १२५, एभीनीस १२५ र बर्गम्यान १२५ स्कुटरको इन्जिन अपग्रेट गरेको हो ।

अपग्रेडपछि तीन वटै स्कुटर फ्लेक्स फ्यूलबाट समेत चलाउन सकिने छ । कम्पनीले बीएस ६ को दोस्रो फेजको स्टायडर्डमा यसको इन्जिन अपग्रेड गरेको छ । यसलाई अब इथानोलको प्रयोग गरेर पनि चलाउन सकिने छ । याे नयाँ इन्जिनमा २० प्रतिशत इथानेल मिलाएर चलाउन सकिने छ ।

कम्पनीले यी स्कुटर बाहेक अन्य मोटरसाइकलको इन्जिनलाई पनि फ्लेक्स फ्यूलबाट चलाउन मिल्नेगरी काम गरिरहेको जनाएको छ । यसले इन्धन बचतसहित कार्बन फुट प्रिन्ट कम गर्ने छ ।

कम्पनीले इन्जिनको अलवा अन्य कुनै कुरा परिवर्तन गरेको छैन । अपग्रेड भएर आएसँगै यसको मूल्यमा भने केही बढोत्तरी भएको छ ।

कम्पनीले सुजुकी एक्सेस १२५ ड्रमब्रेक ७९ हजार ४००, डिस्कब्रेक ८३ हजार १००, स्पेसल एडिसन ८४ हजार ८०० र राइड कनेक्ट एडिसनको ८९ हजार ५०० मूल्य तोकेको छ । साथै, सुजुकी एभीनीस १२५ को ९२ हजार र रेस एडिसनको ९२ हजार ३०० राखेको छ ।

त्यसैगरी, बर्गम्यान स्ट्रीटको ९३ हजार र यसको राइड कनेक्सन एडिसनको ९७ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) निर्धारण गरी विक्री सुरु हुन लागेको छ । यी तीन वटै स्कुटर नेपाली बजारमा पनि उपलब्ध हुनेछन् ।


Back_to_top