नेटाको बिक्री १८% ले बढ्यो, पुरा भयो ३ लाख यूनिट उत्पादन

काठमाडौं । चीनको उदयमान ‘प्योर ईभी’ कम्पनी होजोन अटोले २०२३ मे महिनामा आफ्नो बिक्री १८ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले अप्रिलको तुलनामा मे महिनामा १८ प्रतिशतले बिक्री बढाउन सफल भएको हो ।

होजोनले आफ्नो नेटा ब्राण्डका कारहरु मे महिनामा १३ हजार २९ यूनिट बेच्न सफल भएको तथ्यांक बाहिर आएको छ । नेटाको बिक्री गत अप्रिल महिनामा ११ हजार ८० यूनिट थियो ।

नेटाले यो वर्षको ५ महिनामा ५० हजार २८५ यूनिट कार बिक्री गरेको छ । साथै, नेटाले मे महिनामै आफ्नो कुल उत्पादन संख्या पनि ३ लाख यूनिट कटाएको छ ।

सन् २०१८ को नोभेम्बरबाट उत्पादन सुरु गरेको नेटाले सन् २०२२ को जनवरीमा मात्रै पहिलो १ लाखको आँकडा छोएको थियो । तर, पछिल्लो १६ महिनामा कम्पनीको उत्पादन १ लाखबाट एकै पटक ३ लाख यूनिट नाघेको हो ।

नेपाल लगायत विभिन्न अन्तर्राष्ट्रिय बजारमा समेत बिक्री भइरहेको नेटाले राइट ह्याण्ड ड्राइभ देशहरुमा बिक्री गर्नका लागि थाइल्याण्डमा नयाँ उत्पादन प्लान्ट समेत बनाउन सुरु गरिसकेको छ ।

कम्पनीले मे महिनाको सुरुवातमै मलेशियाको अटो शोमा भाग लिदै मलेशियन बजारमा समेत बिक्री गर्ने घोषणा गरेको थियो ।


Back_to_top