भारतमा मासिक ३ लाख ३० हजार कार बिक्री हुँदा नेपालमा सन्नाटा

काठमाडौं । भारतीय बजारमा कार बिक्री उत्साहपूर्ण रहेको देखिन्छ । सन् २०२३ को ५ महिनालाई मात्रै हेर्दा पनि मासिक औषत ३ लाख ३० हजार यूनिट हाराहारी कार भारतमा बिक्री भइरहेको छ । तर, नेपालमा निरन्तर बिक्रीमा गिरावट आइरहेको देखिन्छ ।

चालु आर्थिक वर्षको १० महिनामा नेपालमा केबल ५ हजार २ सय यूनिट हाराहारी मात्रै कार आयात भएको भन्सार तथ्यांकमा देखिन्छ ।

भारतमा मे २०२३ मा ३ लाख ३४ हजार ४९९ यूनिट कार होलसेल बिक्री भएको तथ्यांक हिजो सार्वजनिक भएको थियो । यसरी बिक्री भएको कारमा सबैभन्दा धेरै मारुती सुजुकीको छ । कम्पनीले एक महिनामा १ लाख ४३ हजार ७०८ यूनिट कार होलसेल बिक्री गर्दै अग्रस्थानमा रहन सफल भएको हो ।

धेरै कार बिक्री गर्ने कम्पनीको सूचीमा दक्षिण कोरियाली ब्राण्ड हुन्डाई मोटर्स छ । कम्पनीले मे महिनामा ४८ हजार ६०१ यूनिट कार बिक्री गर्दा हुन्डाईलाई पच्छाई रहेको टाटाले ४५ हजार ८८० यूनिट कार बिक्री गर्न सफल भएको छ ।

अर्को भारतीय एसयूभी एक्सपर्ट महिन्द्राले एक महिनाको अवधिमा ३२ हजार ८८३ यूनिट गाडी बिक्री गरेको छ । पाँचौ स्थानमा रहेको टोयोटाले १९ हजार ३७९ यूनिट कार बिक्री गर्दा किया १८ हजार ७६६ यूनिटसहित छैटौं स्थानमा परेको छ ।

एमजी मोटर्सले ५ हजार ६ यूनिट सहित आठौं स्थानमा आफुलाई सुरक्षीत गर्दा होन्डा, रेनो, स्कोडा र फक्सवागेनको बिक्रीमा गिरावट आएको छ । यसअवधिमा होन्डाले ४ हजार ६६०, रेनोले ४ हजार ६२५, स्कोडाले ३ हजार ५४७ र फक्सवागेनले ३ हजार २८६ यूनिट कार बिक्री गरेका छन् ।

नेपालमा लगातार घट्दै

नेपालमा आर्थिक वर्ष २०७७/७८ मा करिब १८ हजार यूनिट कार बिक्री भएकोमा आर्थिक वर्ष २०७८/७९ मा त्यो संख्या झण्डै आधाले घटेको थियो । त्यसपछि चालु आर्थिक वर्ष झनै खराव चलिरहेको छ ।

चालु आर्थिक वर्षको १० महिनामा विद्युतीय कारको आयात बढ्दा मात्रै ५ हजार यूनिट नाघेको हो । अन्यथा पेट्रोलियम पदार्थबाट चल्ने कारको आयात केबल २ हजार एक सय यूनिट मात्रै छ ।


Back_to_top