नेटा भीमा ३८ किलोवाट आवरको ब्याट्री, ३८ लाख मूल्य

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटरले नेपाल ल्याउन लागेको नेटा भी मोडलको क्रसओभर ३८.५४ किलोवाट आवर क्षमताको ब्याट्रीमा आउने कम्पनीले जनाएको छ । यसअघि हामीले ३१ किलोवाट आवरको ब्याट्री र ४० किलोवाट क्षमताको मोटरमा नेटा भी नेपाल आउने समाचार लेखेका थियौं ।

कम्पनी स्रोतका अनुसार सुरुमा नेपाल आउने कारको ब्याट्री ३८.५४ किलोवाट आबरको हुनेछ । एनइडीसीले ३८० किलोमिटर रेन्ज भनेपनि यो क्रसओभरले करिब ३०० किलोमिटर रेन्ज दिने अनुमान गर्न सकिन्छ । विद्युतीय कारको रेन्ज सडकको अवस्थामा भर पर्ने भएकोले नेपाली सडकमा त्योभन्दा बढी अपेक्षा गर्न सकिदैन ।

नेटा भीमा कम्पनीले सिएटीएलको ब्याट्री प्रयोग गरेको छ । सिएटीएल चीनको अग्रणी ब्याट्री उत्पादक कम्पनी हो । यसैले उत्पादन गरेको ब्याट्रीमा टेस्लादेखि एमजीसम्मका गाडी बजारमा उपलब्ध छन् ।

सिजी मोटरले यसको ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिने जनाएको छ । नेटा भीले नेपाली बजारमा टाटा नेक्सनसँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । यसको मूल्य ३८ लाख रुपैयाँ रहने कम्पनी स्रोतले जनाएको छ ।

अहिलेसम्मको अवस्थालाई हेर्दा नेटा भी नेपालमा विक्री हुने सबैभन्दा कम मूल्यको क्रसओभर एसयूभी हुने अपेक्षा गरिएको छ ।


Back_to_top