सिजी मोटरले ११ सिटे इलेक्ट्रीक माइक्रोबस विक्री गर्ने, रेन्ज ३०० किमि

काठमाडौं । चौधरी समूह अन्तर्गतको ‘साइनीरे’ नामको इलेक्ट्रीक माइक्रोबस नेपालमा विक्री गर्ने भएको छ । कम्पनीले नेपाल ल्याउन लागेको इलेक्ट्रीक भ्यान ११ सिट क्षमताको हो ।

बढ्दो पेट्रोलियम पदार्थको मूल्य र आयात रोक्न सरकारले लिएको कदमपछि विद्युतीय गाडी नेपाल आउने क्रम बढ्दो छ । यसैक्रममा चौधरी समूह अन्तर्गत रहेको सिजी मोटरले भ्यान नेपाल ल्याउन लागेको हो ।

‘हामी विद्युतीय गाडीको बजार विस्तारमा आक्रमक योजना बनाएर आएका छौं । सबै किसिमका सवारीसाधन विद्युतीय चलाउने सरकारी योजना अनुसार हामीले काम गर्छौ । यही क्रममा पहिला प्यासेन्जर कार र त्यसपछि भ्यान विक्री गर्ने योजना बनाएका छौं’, सिजी मोटरका सेल्स एण्ड अप्रेसन डाइरेक्टर दिपक थापाले मेरोअटोसँग भने ।

कम्पनीले चाँडै यी माइक्रोबसहरु बजारमा ल्याउने तयारी गरिरहेको छ । रुटमा चल्ने यस्ता माइक्रोभ्यानको लागि विभिन्न स्थानमा चार्जिङ स्टेशन निर्माण गर्ने तयारी भइरहेको थापाले जानकारी दिए ।

यस्तो छ ११ सिटे भ्यान

कम्पनीले ल्याउन लागेको माइक्रो भ्यानको लम्बाई ४,४९५ एमएम, चौडाई १,६८० एमएम, उचाई १,९९० एमएम र ह्वीलवेस २,९२५ एमएम रहेको छ । गाडीको कुल तौल १,५२० केजी छ ।

एक पटकको सिंगल चार्जमा ३०० किलोमिटर रेन्ज दिने यो माइक्रोबसमा क्याटलले उत्पादन गरेको ४१.८६ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री प्रयोग भएको छ । अधिकतम ६० किलोवाट क्षमताको मोटर रहेको माइक्रो भ्यानको टर्क भने २२० न्यूटन मिटर रहेको छ ।

अधिकतम १०० किलोमिटर प्रतिघन्टाको स्पीडमा गुड्न सक्ने यो माइक्रोबसमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स, १४ इन्चको टायर, ६.६ किलोवाटको रेगुलर चार्जर, अगाडि डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक पाउन सकिन्छ ।

सिजी मोटरले यी माइक्रोबसमा ५ वर्ष वा दुई लाख किलोमिटरको वारेन्टी दिने जानकारी दिएको छ ।


Back_to_top