काठमाडौं । सिजी मोटर्सको बहुप्रतिक्षित मोडल ‘नेटा एक्स’ अर्को साता नेपाल आइपुग्ने कम्पनीले जानकारी दिएको छ । एसयूभी सेग्मेन्टमा कडा प्रतिस्पर्धी बन्ने अनुमान गरिएको नेटा एक्स दुई ब्याट्री अप्सनसहित तीन भेरियन्टमा आउन लागेको हो ।
कम्पनीले इन्ट्री भेरियन्टमा ६२ किलोवाट आवर र ७२ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा उपलब्ध हुनेछ । सिजी मोटर्सले नेटा एक्सको मूल्य ठ्याक्कै घोषणा नगरेपनि ५२ लाखदेखि ६० लाख भित्रै यी तीनवटै भेरियन्टको मूल्य कायम हुने बताइन्छ ।
नेपाली बजारमा १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटरमा उपलब्ध हुने नेटा एक्सको सानो ब्याट्रीले ४०० र ठूलो ब्याट्रीले ५०० किलोमिटर माथि रेन्ज दिने कम्पनीको दावी छ ।
यसमा सबैभन्दा स्मार्ट फिचरको रुपमा क्वालकमको स्मार्टड्रागन ८१५५ ककपीट दिइएको छ । यसमा ३ वटा स्मार्ट ड्राइभिङ चीप पाउन सकिन्छ ।
अहिले बजारमा सर्वाधिक चर्चामा रहेको एटो-३ भन्दा ठूलो साइजमा उपलब्ध हुने नेटा एक्स प्रिमियम फिचरको साथ आउने छ । सुरक्षाको हिसावले उत्कृष्ट र लग्जरीको बाबजुद धेरैको पहुँचमा पर्ने भएको कारण यसले निकै राम्रो ब्यापार गर्ने सिजी मोटर्सको अपेक्षा छ ।
नेटा एक्सको लम्बाई ४६१९ एमएम, चौडाई १८६० एमएम र उचाई १६२८ एमएम रहेको छ । कम्पनीले यसमा २७७० एमएमको ह्वीलवेस पाउन सकिन्छ । यसमा १८५ एमएमकाे ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।
अहिले केही यूनिट मात्रै आइरहेको नेटा एक्सको बुकिङ यसअघि नै खुल्ला भएको थियो । सुरुदेखि नै सिजी मोटर्सले आगामी बैशाखमा गाडी डेलिभरी दिने जनाएको छ ।

