सुजुकीले भारतमा चार्जिङ नेटवर्क बनाउन खोल्यो कम्पनी

काठमाडौं । भारतको सबैभन्दा ठूलो कार निर्माता मारुती सुजुकीले आगामी वर्षहरूमा आफुलाई बलियो बनाउन हाइब्रिड र इलेक्ट्रीक कारहरुको उत्पादन बढाउने योजना अगाडि सारेको छ ।

भारतमा आफ्नो प्रभुत्व बढाउन कम्पनीले कार पुल सर्भिस, ईभी चार्जिङ नेटवर्क निर्माण गर्ने छुट्टै कम्पनी दर्ता गराएको छ । सन् २०३० सम्ममा ६ नयाँ इलेक्ट्रीक मोडल बजारमा उतार्ने योजना बनाएको कम्पनीले त्यसको लागि आवश्यक पूर्वाधार निर्माण गर्न खोजेको देखिन्छ ।

मारुती सुजुकी स्मार्ट चार्ज र मारुती सुजुकी चार्ज हब नामबाट कम्पनी दर्ता भएका छन् । स्मार्ट चार्ज कम्पनीले सिंगल चार्जिङ प्वाइन्ट मात्रै निर्माण गर्न सक्ने बताइन्छ ।

त्यसैगरी चार्ज हब नामक कम्पनीले एउटै स्थानमा दुई वा बढी चार्जिंग प्वाइन्टहरू राखेर सेवा दिनेछ । चार्ज हबमा सपिङ मल, रेष्टुरेन्ट, राजमार्ग विश्राम कक्ष लगायतका सेवाहरु उपलब्ध हुनेछन् ।

मारुती सुजुकीले ल्याउने पहिलो इलेक्ट्रीक कार ईभीएक्स हो । यो प्योर इलेक्ट्रीक प्लेटफर्ममा बन्नेछ । यसका अलावा एक ह्याचव्याक र अर्को एमपीभी पनि इलेक्ट्रीक मोडल तयार हुँदैछ ।

सुजुकीले गुजरात प्लान्टबाट विद्युतीय कारहरु उत्पादन थाल्ने छ । विद्युतीय सवारीका साथै मारुतीले ब्याट्री सेल, ब्याट्री प्याक र मोड्युलहरू पनि उत्पादन गर्नेछ । भारतमा उत्पादन हुने सुजुकीका कार घरेलु र निर्यात बजार दुवैका लागि उपलब्ध हुनेछन् ।


Back_to_top