काठमाडौं । चांगान ग्रुपको नेभो क्यू-०५ को अहिले बुकिङ चलिरहेको छ । एमएडब्लू वृद्धिले दीपल नेभो क्यू-०५ भनेर नेपाल ल्याएको यो एसयूभीलाई हामीले काठमाडौंको विभिन्न स्थानमा चलाएपछि केही लेख्ने जमर्को गरेका छौं ।
क्यू-०५ लाई क्रमिक रूपमा नियाल्दै गएपछि हाम्रो अनुभवले बोलेको पहिलो कुरा मूल्य अनुसारको ठूलो एसयूभी हो । कम्पनीले टप भेरियन्ट क्यू-०५ नै ४९ लाख ९९ हजार रुपैयाँमा बुकिङ लिइरहेको छ । त्यसैले कम मूल्यको ठूलो एसयूभी भन्न धेरै सोचिरहनु पर्दैन ।
आजकल विद्युतीय कार खोज्नेहरूले गाडीको मूल्य मात्रै होइन गाडीमा भएका अन्य कुरा पनि सोध्छन् । अझ भनौं पेट्रोल कार किन्ने उपभोक्ताको तुलनामा बुझेर ईभी किन्नेहरू धेरै स्मार्ट देखिन्छन् ।
यस्ता बुझेर गाडी किन्नेहरूको लागि साइज, मूल्य, मोटर पावर, टर्क, ब्याट्री साइज, रेन्ज, तिब्र गतिमा चार्ज जस्ता कुराले धेरै फरक पार्छ । यी सबै कुरा बुझेर ईभी किन्न आउने मानिसको लागि नेभो क्यू-०५ आफैँ उत्तर दिन सक्षम छ ।
साइजको कुरा
झट्ट बाहिरबाट हेर्दा यो कार सानो लाग्न सक्छ । तर, गाडी भित्र पस्दा निकै ठूलो अनुभूत हुन्छ । यसको लम्बाइ ४४३५ एमएम, चौडाइ १८५५ एमएम र उचाइ १६०० एमएम छ । यसमा २७३५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।

बुट स्पेश ५४० लिटरको छ । पछाडिको सिट ढाल्दा बुट स्पेश १३८० लिटरसम्म बढाउन सकिन्छ । यसमा १९० एमएमको स्मार्ट ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । हामीले चलाएको खराब बाटाहरूमा पनि गाडीको तल्लो भागमा कतै छुँदैन ।
मूल्यका हिसाबले प्रतिस्पर्धी देखिएका एसयूभीको तुलनामा यो अगाडि छ । जसले ५५ लाखदेखि ६० लाख मूल्यका एसयूभीसँग सिधा प्रतिस्पर्धा गर्छ ।
डिजाइन पनि उत्कृष्ट
यसको डिजाइन पनि निकै क्लिन र एरोडाइनामिक छ । फ्रन्ट लुक निकै मिनिमल डिजाइनमा तयार पारिएको छ । पछाडिको भाग निकै स्पोर्टी लाग्छ ।
अगाडि प्रयोग भएको डिजिटल विङ डीएलआर, फुल विड लाइट, ड्रयाग कोफिसियन्ट ०.२६५ सीडी, स्टार रिङ टेल लाइट र एम्बियन्ट लाइट यसमा प्रयोग भएको छ । यी कुरा क्यू-०५ मा भएको फिचरभन्दा माथि दीपलको डिजाइन फिलोसोपी हो ।

ब्याट्री र रेन्ज
विद्युतीय सवारीसाधनको महत्वपूर्ण हिस्सा ब्याट्री हो । यसमा सीएटीएलले उत्पादन गरेको गोल्डन सिल्ड ब्याट्री दिइएको छ । जसको लाइफ ५ हजार साइकलसम्म हुने बताइएको छ ।
५१.९ किलोवाट आवरको एलएफपी ब्याट्रीले सिंगल चार्जमा ३६० किलोमिटरसम्म रेन्ज दिने देखियो । नेभो क्यू-०५मा रहेको १२० किलोवाटको मोटरले दीपल फ्यामलीकै सबैभन्दा पावरफुल एसयूभी बनाएको छ ।
यसमा रहेको ब्याट्रीले १६२ किलोवाटसम्मको डीसी चार्जर सपोर्ट गर्छ । जुन यात्राको क्रममा छिटो चार्ज गर्न सकिने एसयूभीमा पर्छ । यसलाई ३० देखि ८० प्रतिशतसम्म मात्रै चार्ज गर्नु परे १५ मिनेट खर्च गर्दा पुग्छ ।
चलाउन कति सजिलो ?
एसयूभी चलाउन कति सजिलो छ भन्ने कुरा स्टेयरिङमा मात्रै भरपर्दैन । आजकलका ईभीमा चालकलाई सहयोग गर्न एडासको प्रयोग हुन्छ । एडास भित्रका फिचरहरूले कत्तिको छिटो रेस्पोन्स गर्छ भन्ने हेर्नुपर्छ ।

एडास भित्र रहेको ब्लाइण्ड स्पट डिटेक्सन, रियर क्रस ट्राफिक ब्रेकिङ, सेफ एक्टीज एसिस्ट, इमर्जेन्सी लेन किपिङ जस्ता फिचरले साँच्चै चालकको काम सजिलो बनाउँछ ।
चलाउन मात्रै होइन क्याविन वास्तवमै लक्जरी लाग्छ । ड्यासबोर्ड अनुसारको ठूलो स्क्रीन, पानारोमिक रुफ र धेरै छनोटयुक्त एम्बियन्ट लाइटले यसलाई उत्कृष्ट बनाएको छ ।
यहाँ भुल्न नहुनेकुरा के हो भने कारलाई लक्जरी बनाउन चालक र प्यासेन्जरका साना साना कुरा सम्बोधन भएको हुनुपर्छ । त्यसमा क्यू०५ बलियोसँग खडा भएको छ ।
यसमा रहेको भ्यान्टिलेटेड सिट, रिक्लाइन सिट, बाहिरको आवाज भित्र नपस्ने क्याविन, पावर टेलगेट, ठूलो ग्लोबबक्स, रियर एसी भेन्ट, वायरलेस चार्जर, कारको साँचो चार्ज गर्न छुट्टै चार्जर, ग्रिप सहितको कप होल्डर, सफ्टटच ड्यासबोर्ड दिइएको छ ।


