काठमाडौं । पाँच सिट भएका गाडीहरु सामान्य हुन् । बजारमा विक्री हुने प्रायः सबै कार ५ सिट क्षमताका हुन्छन् । पाँच सिट क्षमताका एसयूभीले बजारमा सफलता पाएसँगै निर्माताको ध्यान ६ वा ७ सिट क्षमतामा पनि केन्द्रित भएको छ ।
परिवारमा धेरै सदस्यहरु हुने वा धेरै साथी भाइ एकैपल्ट यात्रा गर्नका लागि यी एसयूभी उपयोगी हुन्छन् । ६ वा ७ सिट क्षमताका एसयूभीमा तीन रोमा सिट दिइएको हुन्छ ।
केही लामो साइज, कम बुट स्पेश हुने यस्ता गाडी आफैँ चलाउने भन्दा चालक राखेर यात्रा गर्नेको धेरै रोजइमा पर्छ । नेपाली बजारमा ७ सिट क्षमताका नयाँ गाडी आउने क्रम सुरु भएको छ । आजै टाटाले ७ सिट क्षमताको नयाँ जेनेरेशन सफारी बजारमा उतार्दै छ ।
त्यसैगरी महिन्द्राको एक्सयूभी ७०० र हुन्डाईको अल्काजार केही समयमै नेपालमा उपलब्ध हुँदैछ । यस्तोमा ठूला उत्पादकले नै ७ सिटको सेग्मेन्टमा कडा प्रतिस्पर्धा गर्ने देखिएको छ । यस्तोमा यी तीन गाडी बीचमा रहेको फरक र विशेषता यहाँ उल्लेख गरेका छौं ।

यी तीनवटा एसयूभीमा मुख्य फरक इन्जिन अप्सनमा पाउन सकिन्छ । हुन्डाईको अल्काजार तथा महिन्द्राको एक्सयूभी ७०० दुबै पेट्रोल र डिजेल इन्जिनमा उपलब्ध रहेको छ । तर, टाटाकोे सफारी भने डिजल इन्जिनमा मात्र आउने छ ।
लुक्समा फरक
यी गाडीको बाहिरी बनोटमा निकै ठूलो अन्तर पाउन सकिन्छ । हुन्डाई अल्काजार सफल एसयूभी क्रेटोको नयाँ जेनेरेशन मोडलसँग मिल्दो जुल्दो रहेको छ । यसमा प्रयोग गरिएको ठूलो क्रोम भएको गार्निस ग्रिल, एलइडी प्रोजेक्टर हेडल्याम्प, एलइडी टेललाइट तथा स्टाइलिस अलोय ह्वीलले यसलाई आकर्षक देखिएको छ ।
त्यस्तै नयाँ जेनेरेशनको टाटा एसयूभी टाटाको इम्प्याक २.० डिजाइन ल्याङ्वेज आधारित रहेको छ । यसको लुक्स टाटाकै एसयूभी एच फाइभसँग मिल्दोजुल्दो छ । टाटाको पहिलाको सफारीको दाँजोमा नयाँ सफारी स्टाइलिस, हाइटेक र फिचर लोडेड रहेको छ ।

भारतीय बजारमा भर्खरै लन्च भएका महिन्द्राको एक्सयूभी ७०० पहिलाको एक्सयूभी ५०० को तुलनामा धेरै फरक देखिएको छ । नयाँ एसयूभी ७०० ठूलो साइजको फ्रन्ट ग्रिलले अग्रेसिभ देखाएको छ । यसको भर्टिकल स्ल्याट्मा भएको क्रोम गार्निसले यसलाई आकर्षक बनाएको छ ।
मस्कुलर लुक्सको कारण यसको रोड प्रेजेन्स राम्रो देखिएको छ । यो एसयूभीमा महिन्द्राले भर्खरै प्रयोगमा ल्याएको नयाँ ब्राण्ड लोगो प्रयोग गरिएको छ ।
साईजमा फरक
यी तीन एसयूभी मध्ये महिन्द्राको एक्सयूभी ७०० सबभन्दा लामो ४६९५ एमएमको रहेको छ । हुन्डाई अल्काजार सबभन्दा छोटो ४५०० एमएमको रहेको छ । त्यस्तै टाटाको सफारीको लम्बाई ४६६१ एमएमको रहेको छ ।
चौडाइतर्फ भने टाटाको सफारी सबैभन्दा ठूलो १८९४ एमएमको रहेको छ । त्यसपछि एक्सयूभी ७०० को चौडाई १८९० तथा अल्काजारको १७९० एमएम रहेको छ ।
उचाइमा पनि टाटाको सफारी सबैैभन्दा अग्लो १७८६ एमएमको रहेको छ । सफारीपछिको अग्लो एक्सयूभी ७०० को १७५५ र अल्काजारको १६७५ एमएमको उचाई रहेको छ ।

ह्वीलवेसमा एक्सयूभी ७०० अगाडि रहको छ । यसको ह्वील वेसको लम्बाई २७५० एमएमको रहेको छ । त्यस्तै सफारी र अल्काजारको ह्वीलवेस क्रमश २७४१ र २६७५ एमएमको रहेको छ ।
क्यावीन फिचरमा फरक
फिचरको तुलनागर्दा हुन्डाई अल्काजारको क्यावीन प्रिमियम रहेको छ । ६ र सात सिटरको अप्सनमा रहेको अल्काजारमा ड्यूलटोन थिम, ठूलो साइजको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, फुल्ली डिजिटल इन्ट्रुमेन्ट क्लष्टर,एम्बीयन्ट लाइटिङ तथा दोस्रो सिटरोको आर्मरेस्ट आदिले यो एसयूभी फिचर प्याक देखिएको छ । सुरक्षा लागि यो एसयूभीमा फ्रन्ट तथा रियर पार्किङ सेन्सर, व्लाइण्ड भ्यू मोनिटर तथा ६ वटा एयरव्याग रहेको छ ।
टाटाको सफारी पनि फिचर लोडेल एसयूभी हो । यसको कनेक्टेड फिचर सहितको ८.८ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम आकर्षक देखिएको छ । यसमा थप विशेषताको रुपमा पानारोमीक सनरुफ, ९ वटा स्पिकर सहितको जेबीएलको अडियो सिस्टम, मल्टी ड्राइभमोड, क्रुज कन्ट्रोल रहेको छ । सुरक्षाको लागि यसमा पनि ६ वटा एयरव्याग, हिलहोल्ड तथा हिल डिसेन्ट कन्ट्रोल, टीपीएमएस तथा अटो डिमीङ ओआरभीएम आदि रहेको छ ।

भर्खरै लन्च भएको महिन्द्राको एक्सयूभी ७०० को क्याबीन झन् फिचर प्याक भएर आएको छ । यो एसयूभीमा १०.२५ इन्चको विशाल इन्फोटेन्मेन्ट सिस्टम, हाइविम असिस्ट सहितको एडीएएस, अडाप्टीभ क्रुज कन्ट्रोल, ट्राफिक साइन रिकग्नेसन सिस्टम आदि फरक फिचर रहेको छ । त्यस्तै सुरक्षाका लागि यस एसयूभीमा सबभन्दा धेरै ७ वटा एयरव्याग, फ्रन्ट कोलिजन वार्निङ, इएसपी, कस्टुम ड्राइभमोड, इलेक्ट्रोनीक पार्किङ ब्रेक आदि नयाँ रहेको छन् । यस हिसावले महिन्द्राको एक्सयूभी ७०० सबैभन्दा धेरै फिचर प्याक रहेको देखिन्छ ।
इन्जिन तथा ट्रासमिसनमा फरक
हुन्डाई अल्काजारमा २.० लिटरको पेट्रोल तथा १.५ लिटरको डिजल इन्जिन रहेको छ । यसको पेट्रोल इन्जिनले १५७ बीएच पावर तथा १९१ एनएम टर्क जेनेरेट गर्छ । त्यस्तै डिजल इन्जिनले ११३ बीएच पावर तथा २५० एनएम टर्क उत्सर्जन गर्छ । दुबै पेट्रोल तथा डिजल इन्जिन ६ स्पीडको म्यानुयल तथा अटोमेटीक गियरबक्समा उपलब्ध हुनेछ ।
ओमेगा आर्क प्लाटफर्ममा बनेको टाटाको सफारीमा २.० लिटरको क्रियोटेक डिजल इन्जिन मात्र रहेको छ । यसले १६८ बीएच पावर तथा २५० एनएम टर्क जनेरेट गर्छ । सफारीमा टाटाले ६ स्पीड म्यानुयल तथा अटोमेटिक गियरबक्स दिएको छ ।

महिन्द्राको एक्सयूभी ७०० मा २.२ लिटरको एमहक डिजल तथा २.० लिटरको एमस्टेलन पेट्रोल इन्जिन रहेको छ । यसमा दिएको २.० लिटरको पेट्रोल इन्जिनले १९७ बीएच पावर तथा ३८० एनएम टर्क तथा डिजल इन्जिनले १५२ बीएच पावर तथा ३६० एनएम टर्क उत्सर्जन गर्छ । यी दुबै इन्जिन अप्सनमा महिन्द्राले ६ स्पीड म्यानुयल तथा अटोमेटीक गियरवक्स दिएको छ ।
यसरी हेर्दा पेट्रोलमा र डिजल दुबै इन्जिन अप्सन मध्ये पेट्रोलमा महिन्द्रा एक्सयूभी ७०० को इन्जिन सबभन्दा पावरफुल रहेको छ । डिजलमा भने टाटाको सफारीको इन्जिन सबैभन्दा पावरफुल रहेको छ । डिजलमा टर्क बढी चाहेने ग्राहकले भने महिन्द्राकै गाडी रोज्नुपर्ने देखिन्छ ।

