नयाँ ब्रेजा र भेन्यूको प्रतिस्पर्धाः फिचर र डिजाइनसँगै इन्जिन निर्णायक

काठमाडौं । सबै कुराले साथ दिएको खण्डमा भदौ ७ गतेबाट अयोजना हुने नाडा अटो शो २०२२ मा मारुती सुजुकी ब्रेजा र हुन्डाई भेन्यू बीच कडा प्रतिस्पर्धा देख्न पाइने छ ।

करिब दुई हप्ताको फरकमा हुन्डाईले भेन्यू र मारुती सुजुकीले ब्रेजामा परिमार्जन सहित भारतमा विक्री सुरु गरेका छन् । यी दुबै कार यसअघि पनि नेपाली बजारमा उपलब्ध रहेको कारण नाडा अटो शो २०२२ मा नेपाल आउने अनुमान गर्न सकिन्छ ।

हुन्डाईले सन् २०१९ मा पहिलो पटक ल्याएको भेन्यूको मिडलाइफ फेसलिफ्ट गरेको हो भने सन् २०१६ मा आएको ब्रेजाको जेनेरेशन परिवर्तन भएको हो ।

सन् २०२१ को विक्री आँकडालाई हेर्ने हो भने ब्रेजाले १८ सय यूनिट पार गरेको थियो भने भेन्यूले ९ सय यूनिटको आँकडा भेट्टाएको थियो ।

मारुती सुजुकीको एसयूभी किन्ने ग्राहकसँग धेरै छनोट थिएन । तर, हुन्डाईको एसयूभीमा धेरै छनोट भएको कारण पनि भेन्यूको विक्री कम भएको अनुमान गर्न सकिन्छ ।

बाहिरबाट हेर्दा ब्रेजामा खासै परिवर्तन गएिको छैन । यद्यपि अगाडिको ग्रिल र लाइट सेटिङमा दुबै एसयूभीमा परिवर्तन देख्न सकिन्छ । अझ, हुन्डाई भेन्यूको पछाडिको लाइट सेक्सनमा धेरै परिवर्तन देख्न सकिन्छ ।

फिचरको तुलना

दुबै कम्पनीले आफ्नो कारमा पहिला नभएका धेरै फिचरहरु थप गरेका छन् । भेन्यूमा पहिलेकै ८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम छ भने, ब्रेजामा पहिलाभन्दा ठूलो ९ इन्च इन्फोटेन्मेन्ट सिस्टम पाउन सकिन्छ । भेन्यूको सिस्टममा वायरलेस स्मार्टफोन कनेक्टीभीटी पाउन सकिन्छ । भेन्यूमा फुल्ली डिजिटल इन्ट्रुमेन्ट क्लष्टर रहेको छ । ब्रेजामा भने इन्ट्रुमेन्ट क्लस्टर सेमी डिजिटल छ ।

हुन्डाईले भेन्यूमा इलेक्ट्रीक एड्जस्टेवल ड्राइभर सिट दिएको छ । दुबै कारको टप स्पेकमा सनरुफ, एम्वियन्ट लाइट, वायरलेस फोन चार्जर तथा रियर एसी भेन्ट पाउन सकिन्छ ।

क्यावीन फिचरमा भेन्यू भारी परेको भएपनि सेफ्टी सम्बन्धी फिचरमा भने ब्रेजाले बाजी मारेको छ । ब्रेजा यो सेग्मेन्टमै पहिलो हेडअप डिस्प्ले र ३६० डिग्री क्यामराको सुविधा सहित आएको छ । यो फिचरका अलावा ६ वटा एयरव्याग, एबीएस, इबीडी, हिलहोल्ड असिस्ट, इसीएस, टीएमपीएस जस्ता फिचरभने दुबै कारमा रहेको छ ।

इन्जिन र गियरबक्सको तुलना

ब्रेजा र भेन्यू दुबै कार पेट्रोल इन्जिन अप्सनमा उपलब्ध रहेको छ । ब्रेजा पावरफुल १.५ लिटरको के१५सी पेट्रोल इन्जिन अप्सनमा मात्र रहेको छ । तर, भेन्यूमा भने दुईवटा पेट्रोल र एक डिजेल इन्जिन पाउन सकिन्छ । भेन्यू १.२ लिटर नेचुरल्ली एस्पिरेटेड एमपीआई र १.० लिटर टर्बो पेट्रोल इन्जिन र १.५ लिटर सीआरडीआई डिजेल इन्जिनमा छनोट गर्न सकिन्छ ।

ब्रेजाको इन्जिनले १०१ बीएचपी पावर उत्सर्जन गर्छ भने भेन्यूको १.२ लिटर पेट्रोलले ८२ बीएचपी, १.० लिटरको टर्बो इन्जिनले ११८ बीएचपी र १.५ लिटर डिजेल इन्जिनले ९९ बीएचपी पावर उत्सर्जन गर्ने क्षमता राख्छ ।

ब्रेजामा ५ स्पीड म्यानुअल र ६ स्पीडको अटोमेटीक गियरबक्सको छ भने भेन्यूको १.२ लिटर इन्जिनसँग ५ स्पीड र १.५ लिटर डिजेल इन्जिनसँग ६ स्पीड म्यानुयल गियरबक्स पाउन सकिन्छ । भेन्यूको १.० लिटर इन्जिनमा भने ६ स्पीडको आइएमटी र ७ स्पीड डिसीटी गियर उपलब्ध रहेको छ । ट्रास्मीसन र इन्जिन अप्सनको कुरामा भेन्यूमा धेरै च्वइस छ ।

अर्को विर्सन नहुने तथ्य के हो भने मारुती सुुजुकी ब्रेजाको इन्जिन ठूलो भएता पनि यसले १९.८ देखि २०.१५ किलोमिटर प्रति लिटर माइलेज प्रदान गर्छ । तर, हुन्डाईको भेन्यूले भने १.२ लिटर पेट्रोल इन्जिनले १७.५ तथा १.० टर्बो पेट्रोलले १७.८ किलोमिटर माइलेज दिन्छ ।

भेरियन्ट र मूल्य

नेपाली बजारमा हुन्डाई भेन्यूको विभिन्न इन्जिन अप्सनसहित ७ वटा भेरियन्ट उपलब्ध छ । हालको मूल्य अनुसार भेन्यूको ३७ लाख ९६ हजारदेखि ५१ लाख ९६ हजारसम्म पर्छ ।

मारुती सुजुकीको ब्रेजाको नेपाली बजारमा तीन भेरियन्ट उपलब्ध छ । ब्रेजाको १.५ लिटरको भीएक्सआई, जेडएक्सआई प्लस र जेडएक्सआई डिउलटोन मोडलहरु उपलब्ध छन् । अहिले उपलब्ध मोडलको मूल्य अनुसार भिटारा ब्रेजा ४३ लाख ४९ हजार देखि ४८ लाख ५४ हजारसम्म रहेको छ ।

नयाँ मोडलको मूल्य पुरानोको तुलनामा केही बढी हुनेछ । भारतीय मूल्यलाई आधार मान्दा ब्रेजाको मूल्य अल्ली धेरै बढ्ने देखिन्छ ।


Back_to_top