काठमाडौं । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंक प्रालिले बीवाइडी एटो थ्रीको नयाँ जेनेरेशन मोडल कहिले बजारमा ल्याउला भन्ने चासो धेरैले गर्न थालेका छन् ।
पहिलेभन्दा ठूलो साइजमा उपलब्ध हुने नयाँ एटो थ्री चीनमा नै यही महिना बिक्री सुरु हुँदैछ । खासगरी, ठूलो क्षमताको डिसी चार्जर सपोर्ट गर्ने नयाँ एटो थ्री रियर ह्वील ड्राइभको साथ बजारमा आउने भएको हो ।
नयाँ एटो थ्रीको लम्बाइ ४६६५ एमएम, चौडाइ १८९५ एमएम र उचाइ १६६५ एमएम रहेको छ । यसमा ह्वीलबेस २७७० एमएम लामो छ । गाडीको कर्ब वजन १६९० किलोग्राम र कुल वजन २११५ किलोग्राम रहेको छ ।
अहिले चीनमा मात्रै उपलब्ध हुने नयाँ एटो थ्री नेपाल आउन अझै कम्तीमा ६/७ महिना लाग्ने बीवाइडी स्रोतले बतायो ।
‘अहिले चीनमा मात्रै बिक्री सुरु हुन लागेको हो । पक्कै पनि एटो थ्री ग्लोबल मोडल भएको कारण नेपाल आउँछ । तर, त्यसको लागि केही महिना लाग्छ’, साइमेक्स स्रोतले मेरोअटोसँग भन्यो ।

नयाँ बीवाइडी एटो थ्रीको अधिकतम स्पीड प्रतिघण्टा १९० किलोमिटर हुनेछ । कम्पनीले आफ्नो चर्चित ब्लेड २.० ब्याट्री दिएर ल्याउने एसयूभीमा रहेको ब्याट्री साइजका बिषयमा भने कुनै जानकारी दिएको छैन ।
अहिले हाम्रा सडकमा गुडिरहेको एटो थ्रीको तुलनामा नयाँ मोडलमा सेन्सरहरू थप गरिएका छन । बाहिर आएको तस्बिरको आधारमा छतमा लाइडार, अगाडि राडार र फेन्डरमा क्यामेरा भएको देखिन्छ ।
नयाँ एटो थ्रीको बाहिरी डिजाइनमा पनि परिवर्तन देख्न सकिन्छ । यसमा १८ इन्च र १९ इन्चको ह्वील दिइएको छ । साथै, सेमि हिडन डोर ह्याण्डल र ड्यूलटोन बडी कलर पाउन सकिन्छ ।

