काठमाडौं । भेरी कोरिडोर अन्तर्गत डोल्पाको लासिकाफ-सिसौलसम्मको सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनाले पाएको छ ।
चैत १ गते बसेको मन्त्रिपरिषद् बैठकले लासिकाफ-सिसौल सडकखण्डको ३३ किलोमिटर सडक निर्माणको जिम्मा सेनालाई दिने निर्णय गरेको हो ।
डोल्पाको लासिकाफदेखि सिसौलसम्मको भू-भाग अत्यन्तै भिरालो र कडा चट्टानी भएकाले सडक निर्माण गर्न कठिन भइरहेको छ । सोही कारण यसको जिम्मा सेनालाई दिइएको हो ।
२०७५ मङ्सिर ४ गते डोल्पाको त्रिपुराकोटसम्म ट्रयाक खोलेर भेरी कोरिडोरको औपचारिक उद्घाटन गरिएको थियो । यो राष्ट्रिय राजमार्ग (नेशनल हाइवे ५७) अन्तर्गत पर्छ ।
यो भारतीय सीमा बाँकेको जमुनाहबाट सुरु भई सुर्खेत, सल्यान, जाजरकोट, रुकुम पश्चिम, डोल्पाको दुनै, धो, तिन्जे हुँदै चीनको सीमासम्म जोड्ने लक्ष्य राखिएको छ ।
भेरी करिडोर कार्यालय जाजरकोटका अनुसार सुर्खेतको छिन्चुदेखि डोल्पाको मरिम्लासम्म करिब ३१७ किलोमिटर सडक पर्नेछ। यसमध्ये छिन्चुदेखि जाजरकोटको सदरमुकाम हुँदै तल्लुबगरसम्म सडक कालोपत्रे भइसकेको छ ।
नेपाल, भारत र चीनलाई जोड्ने भएकाले यो करिडोरलाई रणनीतिक तथा व्यापारिक दृष्टिले महत्वपूर्ण मानिन्छ।
साथै, भेरी कोरिडोर निर्माणपछि डोल्पाका प्रसिद्ध पर्यटकीय स्थलहरू फोक्सुन्डो ताल, जगदुल्ला ताल, सुलिगाड झरना, छार्का भोट बस्ती र त्रिपुरा सुन्दरी मन्दिर, धो उपत्यकासम्म स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ ।


