काठमाडौं । नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालले अगामी मंगलबारबाट काठमाडौंको भृकुटीमन्डपमा १४ औं संस्करणको वृहद अटो प्रदर्शनी गर्ने भएको छ । नाडाले यसपटकको मेलामा चार पाङ्ग्रेतर्फ इसुजु, रेनो, हुन्डाई, फक्सवागेन, ड्याटसन, फोर्ड, सुजुकी, होन्डा, एमजी, प्यूजो, फोटोन, फियात, जिप, साङयोङ, टोयोटा, महिन्द्रा, टाटा, किया, माज्दा, मित्सुविसी, निसान र बीवाईडी, दाय कम्पनी सहभागी हुने जनाएको छ ।
त्यस्तै दुई पाङ्ग्रेमा यामाहा, हिरो, सीएफमोटो, बेनेली, भेस्पा, अप्रिलिया, रोयल इन्फिल्ड, होन्डा, केटीएम, सुजुकी, एनआइयु, बजाज, रनर, बीएमडब्ल्यु, मियामा, योमा मा ई, एमभी अगस्टा, टीभीएस, सुपर सोको र जीपीएक्स ब्रान्डको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
यस्तोमा कम्पनीहरुले ल्याउने नयाँ प्रडक्ट र प्रतिस्पर्धी मोडलको विषयमा जानकारी दिन हामीले यो रिपोर्ट तयार गरेका हौं ।
यस वर्षको सबैभन्दा मुख्य आकर्षण सबकम्प्याक्ट एसयूभी सेग्मेन्टमा देखिएको छ । उक्त समूहमा दुई ब्रान्ड न्यू मोडल हुन्डाई भेन्यू, महिन्द्रा एक्सयूभी ३०० बीच हुने छ भने इको स्पोर्टको थन्डर भेरियन्टपनि अटो शोको अर्को आर्कषण हुनेछ ।
मारुती सुजुकीले ल्याउने तीन मोडल एसक्रस, सियाज र आर्टिगा हाइब्रिड कारले पनि नाडा अटो शोमा निकै ठूलो चर्चा पाउने अनुमान गरिएको छ । रेनोको ट्राइबर पनि अटो शोको आकर्षण हुनेछ ।
टोयोटाका दुई हाइब्रिड कार र्याभफोर र क्याम्रीले अटो शोमा अवलोकनकर्तालाई आकर्षित गर्न सक्नेछ ।
त्यसैगरी इलेक्ट्रीक कारमा किया निरो, हुन्डाई कोना र आयोनिक, बीवाईडीको एम थ्री, एमजीको इजेडएस र दायका इलेक्ट्रीक कारले अवलोकनकर्तालाई आकर्षण गर्ने देखिएको छ ।
युवाहरुको ध्यान कारमा भन्दा मोटरसाइकलमा बढी हुने भएकाले सहभागि १९ वटा कम्पनीले विभिन्न नयाँ मोडललाई शोकेस गर्ने तयारी गरेका छन् ।
त्यसमध्य सबैभन्दा चर्चामा रहेको मोटरसाइकल हो यामाहा एमटी १५, केटीएम १२५, सुजुकी जिक्सरका बिभिन्न मोडल, होन्डा सिबी ४००, हिरो एक्सपल्स, बजाज एनएस २०० एफआई, टीभीएस १६० फोर भी एबीएस, बेनेलीका २०० सीसीका बाइक, सुपर शोको इलेक्ट्रीक लगायत रहेका छन् ।


