काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपाली बजारमा डेढ दर्जन बढी नयाँ मोडलका कार सार्वजनिक हुने भएका छन् ।
बिक्रेताहरूले साउन २६ देखि आयोजना हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा र सोभन्दा अगावै पनि नयाँ मोडल लन्च गर्ने भएका हुन् ।
साउनमा करिब आधा दर्जन नयाँ ब्राण्ड नेपाल प्रवेश गर्दैछन् भने हाल बिक्री भइरहेका ब्राण्डले पनि नयाँ मोडल बजारमा उतार्ने भएका हुन् । साउनमा बजारमा आउने अधिकांश मोडल विद्युतीय सवारी रहेका छन् ।
यो महिना लन्च हुने अधिकांश नयाँ मोडल ह्याचब्याक र एसयूभी सेग्मेन्टका रहेका छन् । साउनमा सम्भवतः मोबिलिटी एक्स्पो अगाडि नै मलेसियन ब्राण्ड प्रोटोनको नयाँ ह्याचब्याक इमास फाइभ लन्च हुनेछ । जगदम्बा मोटर्सले इमास फाइभको बुकिङ समेत खुलाइसको छ ।

त्यस्तै, साउनमा लीपमोटरको नयाँ एसयूभी बी ०३ नेपाली बजारमा आउने छ । साँग्रिला मोटर्सले चीनमा ए १० नाममा बिक्री भइरहेको बी ०३ नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक गर्ने तयारी गरेको हो ।
त्यस्तै, टाटाका दुई नयाँ मोडल लन्च हुने सम्भावना छ । सिप्रदी ट्रेडिङले टाटा पन्च ईभी र टियागो ईभीको फेसलिफ्ट मोडल सार्वजनिक गर्नेछ । साथै, कम्पनीले वहुप्रतिक्षित सियरा ईभी पनि लन्च गर्न सक्ने सम्भावना छ ।

साउनमा हुन्डाईको सबैभन्दा ठूलो इलेक्ट्रीक एसयूभी आयोनिक-९ सार्वजनिक हुनेछ । नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल आयोनिक ९ नेपाल ल्याइसको छ । त्यस्तै, कम्पनीले नाइमामा नेपालमै एसेम्बल भएको अल न्यू हुन्डाई भेन्यु पनि लन्च गर्ने सम्भावना छ ।
त्यस्तै, लक्ष्मी ग्रुपले नेपालमा नयाँ ब्राण्ड जेटोर, आरफक्स, बीएआइसी पनि प्रवेश गराउँदै छ । कम्पनीले बीएआइसीको बीजे-३०ई एसयूभी र आरफक्सको टी-वान ह्याचब्याक लन्च गर्नेछ । जेटोरको कुन मोडल आउँछ भन्ने अहिलेसम्म खुलाएको छैन । तर, नेपालको भूगोल सुहाउँदो अफ रोड एसयूभी टी २ ल्याउने अनुमान छ ।

नाइमा एक्स्पोमार्फत नेपालमा नयाँ ब्राण्ड चेरी क्यूक्यू प्रवेश गर्दैछ । चेरीको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले क्रसओभर ह्याचब्याक क्यूक्यू थ्री सार्वजनिक गर्दैछ । साथै, एसपीजीले नै ओमोडा ओ फोर पनि लन्च गर्नेछ ।
चांगानको नेभो ब्राण्ड पनि नेपाल प्रवेश गर्दैछ । एमएडब्लू वृद्धिले नेभोको क्यू ०५ एसयूभी प्योर इलेक्ट्रीक एसयूभी सार्वजनिक गर्नेछ ।
नेपालका लागि वुलिङको आधिकारिक बिक्रेता पारामाउन्ट माटर्सले वुलिङका चार नयाँ मोडल लन्च गर्ने सम्भावना छ । कम्पनीले एक्सियन एसयूभी, डेरियान एमपीभी, वुलिङ मिनी ईभी र बिंगोको फेसलिफ्ट मोडल सार्वजनिक गर्ने छ ।
सीजी मोटर्सले आयोन यूटी ह्याचब्याक लन्च गर्नेछ । पायोनियर मोटो कर्पले हालै भारतीय बजारमा बिक्री सुरू भएको निसान टेक्टन एसयूभी लन्च गर्नसक्ने सम्भावना छ ।
बीवाइडी, महिन्द्रा लगायत अन्य ब्राण्डले पनि पनि कुनै नयाँ मोडल लन्च गर्ने सम्भावना छ । हालसम्म ती ब्राण्डले कुन मोडल ल्याउँछन् भन्ने चाहिँ खुलेको छैन ।
मोबिलिटी एक्स्पो मार्फत लेपास, हंकी ब्राण्ड पनि नेपाल प्रवेश गर्ने सम्भावना छ । यद्यपि, यी ब्राण्डको उपस्थित निश्चित भने भइसकेको छैन ।


