‘ओभर स्पीडमा ५० हजार जरिवाना हुन्छ, नगद तिर्न नसक्नेलाई श्रमदान’

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ट्राफिक जरिवाना ५०० रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म निर्धारण गरिने बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले चालकको गल्तीको प्रकृति, तीव्रता र पुनरावृत्तिका आधारमा जरिवाना रकम ५० हजार रुपैयाँ तोकिने बताएका हुन् ।

उनले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम कडा बनाउनुको विकल्प नभएको बताए । तीव्र गति र लापरबाहीका कारण दुर्घटना बढिरहेको भन्दै नियमनमा कडाइ गर्नुपर्ने उनको भनाइ छ ।

उनले पछिल्लो ५ वर्षमा १ लाख २५ हजार ५६४ सडक दुर्घटना भएको जानकारी दिए । जसमा ५९ हजार ४२३ दुर्घटना ओभर स्पीड र ३५ हजार १४५ दुर्घटना केयरलेसले भएको उनले बताए । ती दुर्घटनामा परी परी १२ हजार ४५२ जनाको ज्यान गएको उनले बताए ।

‘पछिल्लो ५ वर्षमा सडक दुर्घटनामापरी १२ हजार ४५२ जनाको ज्यान गएको छ । सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम कडा बनाउनुको विकल्प छैन,’ उनले भने, ‘हामीले ट्राफिक जरिवानालाई वैज्ञानिक बनाउन लागेका हौँ। गल्तीको प्रकृति अनुसार जरिवाना ५०० रुपैयाँदेखि ५० हजारसम्म हुनसक्छ । एकैपटक ५० हजार होइन, ३०/४० को स्पीड लिमिट तोकेको ठाउँमा पटक पटक १०० को स्पीडमा चलाए ५० हजारसम्म जरिवाना हुन्छ । हामीले गतिको इन्टेन्सिटी र रिपिटेसनको आधारमा रेन्ज तोक्न खोजेका हौँ।’

उनले नगद जरिवाना तिर्न नसक्नेहरूका लागि श्रम भुक्तानीमार्फत जरिवाना तिर्न सक्ने व्यवस्था गरिने जानकारी दिए । नयाँ विधेयकमा श्रमदानमार्फत जरिवाना तिर्न सक्ने नयाँ कानुनी व्यवस्था प्रस्ताव गरिएको उनको भनाइ छ ।


Back_to_top