ग्राहकले पूर्वानुमान गरेकै मूल्यमा इमास फाइभ किन्न पाउने

काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले बहुप्रतिक्षित इलेक्ट्रीक एसयूभी प्रोटोन इमास फाइभको बुकिङ खुलाएको छ ।

कम्पनीले १ लाख रुपैयाँ रकम तोकेर प्रोटोन इमास फाइभको बुकिङ खुलाएको हो । ग्राहकहरूले बैंक अथवा अनलाइन मार्फत रकम भुक्तानी गरी बुकिङ गर्न सक्नेछन् ।

बुकिङ खुलाएसँगै कम्पनीले ‘गेस एण्ड बुक द अल न्यू इमास फाइभ एट योर प्राइस’ नामक विशेष योजना सुरू गरेको छ ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत ग्राहकहरूले नयाँ प्रोटोन इमास फाइभको आधिकारिक बजार मूल्य अनुमान गरी सोही मूल्यमा गाडी खरिद गर्न सक्ने मौका पाउनेछन् । कम्पनीले तोकेकै लन्च मूल्य वा लन्च मूल्यसँग सबैभन्दा नजिकको मूल्य अनुमान गर्ने ग्राहकहरूले आफूले अनुमान गरेकै मूल्यमा सो गाडी किन्न सक्नेछन् ।

यस योजनामा सहभागी हुन इच्छुकहरूले कम्पनीले जारी गरेको साइट https://emas5predict.proton-nepal.com/ मा गएर आफ्नो रोजाइको भेरियन्ट छनोट गरी ‘प्राइस स्लाइडर’ मार्फत आफ्नो अनुमानित मूल्य लक गरी पठाउन सक्नेछन् ।

कम्पनीले अनुमानका लागि इमास फाइभ प्राइम भेरियन्टको मूल्य २९.९९ लाखदेखि ३४.९९ लाख रुपैयाँको रेन्ज तोकेको छ । त्यस्तै, ‘प्रिमियम’ भेरियन्टको ३४.९९ लाखदेखि ३९.९९ लाख रुपैयाँसम्म निर्धारण गरेको छ ।

यस योजनामा नियमपूर्वक सहभागी भएकाहरूमध्येबाट ‘लक्की ड्र’ मार्फत प्रत्येक भेरियन्टबाट ५ जना भाग्यशाली विजेताहरू चयन गरिने कम्पनीले जनाएको छ । विजेताहरूले यस योजनाका सर्त तथा नियमहरूको अधीनमा रही आफूले अनुमान गरेकै मूल्यमा प्रोटोन इमास फाइभ खरिद गर्न पाउनेछन् ।

यस्तो छ इमास फाइभ

प्रोटोनले इमास फाइभ ५८ किलोवाट र ८५ किलोवाटको दुई मोटर अप्सनमा नेपाल आएको छ । यसमा ३०.१२ किलोवाट आवर र ४०.१६ किलोवाट आवरको दुई ब्याट्री अप्सन छ । जसले एकपटकको फुलचार्जमा क्रमशः २२५ किमी र ३२५ किमी रेन्ज दिन्छ ।

इमास फाइभलाई ३.३ किलोवाटको एसी र ८० किलोवाटसम्मको डीसी फास्ट चार्जरले चार्ज गर्न सकिन्छ । डीसी चार्जरको प्रयोगबाट २१ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।

जिलीले चीनमा उत्पादन गरेको ‘जिङयुआन’ मोडललाई नै प्रोटोनले रिब्याचिङ गरेर इमास फाइभ बनाइएको हो । इमास फाइभको लम्बाइ ४१३५ एमएम, चौडाइ १८०५ एमएम र उचाइ १५७० एमएम छ । यसमा २६५० एमएम लामो ह्वीलबेस छ ।

यसको इन्टेरियर निकै आकर्षक छ । यसमा ८.८ इन्चको इन्स्ट्रुमेन्ट क्लष्टर, मल्टिफंशनल स्टेरिङ ह्वील, भेरियन्ट अनुसार १०.१ र १४.६ इन्चको स्क्रीन उपलब्ध छ । हाइकार कनेक्सन, ५० वाटको वायरलेस चार्जर, २५६ कलर मध्ये छान्न सकिने एम्बियन्ट लाइट, किलेस इन्ट्री पाउन सकिन्छ ।

यसमा सुरक्षाको लागि ६ एयरब्याग, विभिन्न सुविधासहितको एडास फिचर, ३६० क्यामेरा लगायत फिचरहरू उपलब्ध छन् ।

प्रोटोन र जिलीको सहकार्यमा उत्पादन गरिएको इमास फाइभले हालै मलेसियाको ‘अलायान्ज डीएसएफ भिहेकल अफ द इयर अवाड्र्स’ मा ‘इलेक्ट्रिक कम्प्याक्ट भिहेकल अफ द इअर २०२६’ को उपाधि जितेको थियो ।


Back_to_top