काठमाडौं । नेपालमा विक्री हुने सबैभन्दा कम मूल्यको कार अल्टो नयाँ डिजाइनमा आउन तयार हुँदैछ । नेपाली बजारमा ट्याक्सीको रुपमा परिचित अल्टो, कारको रुपमा भने खासै विक्री भइरहेको छैन । यद्यपी कम मूल्य, सानो इन्जिन, उच्च माइलेज, जस्तो सुकै बाटोमा सहज चलाउन सकिने जस्ता कारण यसलाई किन्न चाहने मानिस थुप्रै भेटिन्छन् ।
मारुती ८०० बाट प्रेरित हुँदै आएको यो मोडल लामो समयदेखि बजारमा उपलब्ध छ । अल्टो ८०० को नामबाट आउन थालेको पनि झण्डै १८ वर्ष भइसकेको छ । लामो विरासत बोकेको अल्टो नयाँ जेनेरेशन मोडलमा आउने भएपछि चर्चा हुनु स्वभाविक हो ।
विगत एक वर्षदेखि विभिन्न समयमा भारतीय सडकमा परिक्षण भइरहेको तस्विरहरु बाहिर आएका छन् । कम्पनीले यही वर्ष यसको विक्री सुरु गर्ने योजना बनाइरहेको छ । मिडिया रिपोर्टका अनुसार मारुती सुजुकीले फेसलिफ्ट बलेनोपछि नयाँ जेनेरेशन ब्रेजा र अल्टो सार्वजनिक गर्ने छ ।
यस्तोमा नयाँ जेनेरेशन अल्टोमा दिइने फिचर लगायतका विषयहरु निकै चर्चामा रहन थालेका छन् ।
नयाँ प्लेटफर्म र डिजाइन
मारुती सुजुकीले नयाँ जेनेरेशन अल्टो ‘लाइट वेट हार्टटेक के प्लेटफर्म’मा बनाइरहेको छ । अहिलेको तुलनामा केही अग्लो ग्राउन्ड क्लियरेन्स र डिजाइनका हिसावले पनि ‘क्रसओभर फिल’ दिने अपेक्षा गरिएको छ । केही दिनअघि नेपालमा विक्री सुरु भएको नयाँ जेनेरेशन सेलेरियोमा पनि यो विशेषता पाउन सकिन्छ ।
इन्जिन
अहिले अल्टोमा रहेको ७९६ सीसी क्षमताको इन्जिन नै नयाँ अल्टोमा रहने छ । तर, कम्पनीले यसमा केही ट्यून गर्न सक्ने छ । यसको पावर अहिलेको भन्दा केही बढी र फाइभ स्पीड म्यानुयल गियरबक्समा आउने छ । सम्भवत कम्पनीले यसलाई एएमटी गियरबक्समा पनि उपलब्ध गराउने छ ।
फिचर
बजारमा उपलब्ध कार मध्ये सबैभन्दा सस्तो मूल्यमा उपलब्ध हुने यो कारमा रहने फिचरको विषयमा धेरैको चासो हुनु स्वाभाविक हो । अल्टोको टप भेरियन्टमा पहिलो पटक स्मार्टप्ले इन्फोटेन्टमेन्ट सिस्टम, पावर विन्डो, एलइडी डे टाइम रनिङ लाइट, ह्वील क्याप, दुई एयरव्याग, रिभर्स पार्किङ सेन्सर जस्ता फिचर उपलब्ध हुनेछन् ।


