काठमाडौं । मारुती सुजुकीले सन् २०१४ मा पहिलो पटक बजारमा उतारेको ‘अल्टो K10’ को नयाँ जेनेरेशन मोडल बजारमा आउने भएको छ । कम्पनीले अल्टो के १० को नयाँ जेनेरेशन मोडललाई भारतका विभिन्न क्षेत्रमा परिक्षण गरिरहेको तस्विरहरु बाहिर आइरहेका छन् । यस्तोमा कम्पनीले नयाँ ह्याचव्याक कार अबको केहि महिनापछि बजारमा ल्याउने सहजै अनुमान लगाउन सकिन्छ ।

कम मूल्यमा ह्याचव्याक कार खोज्नेलाई उत्कृष्ट विकल्प दिने उद्देश्यले कम्पनीले नयाँ जेनेरेशन अल्टो K10 को तयारी गरिरहेको हो । मारुती सुजुकीको ‘अल न्यू प्लाटफर्म’मा आधारित रहने नयाँ जेनेरेशन K10 मा पहिलेको तुलनामा अधिकांश फिचरहरु परिवर्तन हुने छन् । नयाँ K10 मा १.० लिटर ‘के१०बी’ पेट्रोल इन्जिन रहने छ । उक्त इन्जिनले अधिकतम ६७ बीएच पावर र ९० एनएम टर्क प्रदान गर्ने छ । यसमा दिइने इन्जिनको आधारमा यसको सिधा प्रतिस्पर्धा रेनो क्वीड र डाट्सन रेडी गोसँग हुने देखिन्छ ।
पहिलेभन्दा ठूलो साइज, क्रोम फिनिसिङ ग्रिल, नयाँ हेडल्याम्प, टेलल्याम्प र फगल्याम्प, रिडिजाइन ड्यास बोर्ड, इन्ट्रुमेन्ट कन्सोल, इन्फोटेन्टमेन्ट सिस्टम, रुफ माउन्टेड स्पोइलर जस्ता फिचर रहने नयाँ जेनेरेशन अल्टो K10 मा ५ स्पीड म्यानुयल र ५ स्पीड एएमटी गियरबक्स रहने अनुमान गरिएको छ ।
अहिले पनि नेपाली बजारमा अल्टो K10 को विक्री वितरण भइरहेको छ । यस्तोमा कम्पनीले भारतमा सार्वजनिक गर्ने नयाँ जेनेरेशन के १० पनि नेपाली बजारमा आउने छ । अहिले नेपालमा उपलब्ध K10 को मूल्य २२ लाख ९९ हजार रुपैयाँ रहेको छ । यस्तोमा नयाँ जेनेरेशन अल्टोको मूल्य केहि बढी हुने अनुमान गर्न सकिन्छ ।

