जेडएस ईभीको नयाँ जेनेरेशन मोडलमा ब्यापक परिवर्तन

काठमाडौं । नेपाली बजारमा अहिलेसम्मकै सर्वाधिक सफल मध्येको एक इलेक्ट्रीक एसयूभी एमजी जेडएस ईभीको नयाँ जेनेरेशन मोडलको बाहिर आएको छ । अहिलेको तुलनामा अगाडिको डिजाइनमा ब्यापक परिवर्तन भएको नयाँ जेनेरेशन जेडएस ईभी निकै आकर्षक देखिएको छ ।

चिनियाँ कम्पनी एसएआईसी ग्रुपले पहिलो पटक सन् २०१८ को ग्वान्जाओ अटो शोमा जेडएस ईभी देखाएको थियो । सन् २०१९ को अन्त्यबाट नेपालमा विक्री सुरु भएको जेडएस ईभीले २०२१ को पहिलो ६ महिनामै ठूलो सफलता हात पारेको थियो ।

तर, नेपालमा २०२२ को सुरुवातमा नै फेसलिफ्ट मोडल सार्वजनिक भएपनि त्यसको विक्री वितरण हुन सकेको थिएन । सुरुवातमा आएको मोडलको तुलनामा फेसलिफ्ट मोडलमा नै कम्पनीले ब्याट्री साइजमा परिवर्तन गरेको थियो । सुरुवातमा ४४.५ किलोवाट आवरको ब्याट्रीमा आएको जेडएस ईभीलाई फेसलिफ्टमा ५१ किलोवाट र ७२.६ किलोवाट आवरको ब्याट्री अप्सन दिइएको थियो ।

नेपालमा सार्वजनिक भएको केही दिनमा नै करिब ५०० यूनिट जेडएस बुकिङ भएपछि आधिकारीक विक्रेता पारामाउन्ट मोटर्सले यसको बुकिङ बन्द गर्नु परेको थियो । २०७८ फागुनमा बुकिङ लिएर बसेपनि चीनमा कोभिड १९ को कारण देखाउँदै गाडी आयात हुन सकेन । त्यसपछि सरकारले कर बढायो । एमजीको आयात पूर्णरुपमा ठप्प भयो ।

एमजीले अहिले देखाएको नयाँ डिजाइनमा फ्रन्ट फेसिया पूर्णत फरक देखिएको छ । यसको फ्रन्टग्रिल र हेडल्याम्पमा धेरै परिवर्तन देख्न सकिन्छ । नयाँ फ्रन्ट बम्परमा यूनिक डायमण्ड प्याटर्नको प्रयोगले गाडी थप स्पोर्टी देखिएको छ । एसयूभीको दुवै साइडमा ठूलो साइजको इनटेक दिइएको छ । नयाँ अलोय ह्वील पहिलेको तुलनामा आकर्षक छ । कारको पछाडिको भाग भने खासै परिवर्तन भएको छैन ।

एमजीले नयाँ जेडएस ईभीमा दिइएको फिचरका बारेमा केही जानकारी बाहिर ल्याएको छैन । यद्यपि, यसको ब्याट्री र मोटर साइज भने अहिलेकै मोडलमा उपलब्ध भएकै हुने अनुमान गर्न सकिन्छ ।

अन्तर्राष्ट्रिय बजारमा विक्री हुने जेडएस ईभी आगामी वर्षको सुरुवातमा थाइल्याण्डबाट सार्वजनिक गर्ने तयारी भइरहेको छ ।


Back_to_top