ट्रायलमा ७० अंक ल्याए पास हुने व्यवस्था लागू, कुनमा कति अंक आउँछ ?

काठमाडौं । वाग्मती प्रदेशमा सरकारले सवारी चालक अनुमति पत्रको ट्रायल परीक्षामा ७० अंक ल्याए पास हुने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

वाग्मती प्रदेशको श्रम, रोजगार तथ यातायात मन्त्रालयले मातहतका यातायात कार्यालयहरुलाई मंसिर १४ गते परिपत्र गर्दै प्रयोगात्मक परीक्षामा ७० अंक ल्याए पास हुने व्यवस्था मिलाउन निर्देशन दिएसँगै कार्यन्वयनमा आएको हो ।

मन्त्रालयको परिपत्रसँगै अब वाग्मती प्रदेशमा सञ्चालनमा रहेका सबै सवारी चालक अनुपतिपत्र कार्यालयहरूले सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्याविधि निर्देशका, २०७७ लाइसेन्सको प्रयोगात्मक परीक्षा लिनु पर्ने भएको छ ।

यसअघि ड्राइभिङ लाइसेन्स लिनका लागि शतप्रतिशत अंक ल्याउनु पर्ने व्यवस्था थियो ।

कुनमा कति अंक आउँछ ?

१. आठ

ट्रायल परीक्षा दिँदा शुरुमा आठ आकारमा मोटरसाइकल तथा स्कुटर घुमाउनु पर्ने हुन्छ । यसमा परीक्षार्थीले दुई वटासम्म गल्ती गर्दापनि पास हुने अवस्था रहेको छ । पहिलो पटक चालकले आठ आकारमा लगाइएको पहेँले धर्का कोरिएको लाइन छोएमा पनि फेल हुने छैन । तर, यस बापत ५ अंक भने घट्ने छ । यसरी पहेले धर्का छुँदैमा आत्तिनु पर्दैन । यो धर्कालाई क्रस गरेर टायर बाहिर जान नदिइ गुडाई रहनु पर्छ ।

त्यसैगरी आठको घेरा भित्र एक पटक खुट्टा टेक्दा पनि पहिले जस्तो फेल घोषणा हुँदैन । तर, यसमा पनि ५ अंक भने घट्ने छ । आठको अंकभार २० रहेको हुन्छ । यसमा अनिर्वाय १० अंक भने ल्याउनु पर्छ । त्यसैले आठमा चलाउँदा निकै संयम भएर चलाउनु पर्छ ।

२.साघुँरो फलेक

यहाँ परीक्षार्थीलाई गल्ती गर्ने छुट हुने छैन । यहाँ कुनै पनि गल्ती भएको खण्डमा सीधै फेल ठहर हुनेछ । यसमा खुट्टाले भुइँ छोएमा वा फलेक बाहिर सवारीसाधन गएमा ट्राफिक प्रहरीले सिठ्ठी फुक्ने छन् । यसका लागि परीक्षार्थीले आठबाट बाहिर निस्किएपछि सीधा अगाडि रहेको साघुँरो बाटोमा विशेष ध्यान दिएर अगाडि बढ्नु पर्छ ।

३. टर्न इन्डिकेटर

यो साँधुरो फलेक पार गर्ने बित्तिकै अगाडि यू टर्न रहेको हुन्छ । यू टर्नमा इन्डिकेटर बाल्न बिर्सेको खण्डमा भने १० अंक घट्ने छ । यसको कुल अंकभार १० पनि १० नै रहेको छ । तपाईंले अगाडि राम्रोसँग पार गरेर आउनु भएको छ भने टर्न इन्डिकेटर वाल्न विर्षेको भरमा नै तपाई फेल हुनु पर्दैन ।

४. ट्राफिक लाइट

यू टर्न सकिएपछि अगाडि ट्राफिक लाइट रहेको हुन्छ । त्यहाँ जेब्रा क्रस समेत रहेको हुन्छ । ट्राफिक बत्तीको इसारा बुझेर अगाडि बढ्नु पर्ने हुन्छ । रेडलाइट बलेको छ भने रोक्नु पर्ने हुन्छ । रातो बत्ती बलेको अवस्थामा अगाडिको रेखा टच नगरी रोकेर बस्नु पर्ने हुन्छ । यहाँ ट्राफिक संकेतको पालना नगरेमा १५ अंक माइनस हुनेछ भने यसको अंकभार पनि १५ नै रहेको छ । अगाडि कुनै गल्ती विना तपाईं आउनु भएको छ भने यहाँको गल्तीका कारण फेल हुनु पर्दैन ।

५. स्पीड ब्रेकर/उबडखाबड

यो स्थानमा १५ अंकको परीक्षा हुन्छ । यसमा परीक्षार्थीले दुई पटकसम्म गल्ती गरेमा फेल हुँदैन । यहाँ एक पटकसम्म खुट्टा भुइँमा टेक्ने र एक पटक स्टार्ट बन्द भएमा ५र५ अंक माइनस हुनेछ । एक पटकभन्दा धेरै गल्ती भएमा मात्र फेल घोषणा हुनेछ ।

६. उकालो/ओरालो

यसको अंकभार २० रहेको छ । यसमा कुनै गल्ती भएमा सीधै फेल घोषणा हुनेछ । उकालो तथा ओरालोमा तोकिएको रेखा कटेर बीचमा रोकिनु पर्नेछ । यहाँ देब्रे खुट्टामात्र टेक्न पाइने हुन्छ । रोकिएको सवारीसाधन उठाउँदा ६ इन्चभन्दा बढी पछाडि सरेमा फेल हुनेछ । यसलाई राम्रोसँग ध्यान दिनु पर्छ ।

७. अन्य

सवारीसाधन स्टार्ट गर्नुअघि टायरमा हावा छ वा छैन भनेर हेर्नु पर्छ, लुकिङ ग्लास, ब्रेकको निरीक्षण गर्नु पर्ने हुन्छ । यसो नगरेमा ३ अंक काटिने छ । त्यसैगरी अस्वभाविक गतिमा वा असंयमित भएर सवारी चलाएमा पनि अर्को ३ अंक काटिने छ । समग्रमा ७० अंक ल्याएमा सवारी चालक अनुमति प्राप्त गर्न सकिने छ ।


Back_to_top