यामाहाले बढायो ५ मोडलको मूल्य (सूचीसहित)

फाइल तस्विर

काठमाडौं । यामाहाले विक्री गर्दै आएको मोटरसाइकलको मूल्य वृद्धि गरेको छ । यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी एमएडब्लू इन्टरप्राइजेजले आफ्नो विभिन्न ५ मोडलको मूल्य वृद्धि गरेको हो ।

कम्पनीले तीन मोडलका मोटरसाइकलको मूल्य बढाउँदा २ मोडलका स्कुटरको मूल्य पनि बढाएको छ । कम्पनीले मोटरसाइकलमा एफजेडएक्स, एफजेडएस भी २ र एफजेड भी २ को मूल्य बढाएको हो । साथै, स्कुटरमा रेजेड आर १२५ एफआई र रेजेड आर १२५ स्ट्रीट र्यालीको मूल्य वृद्धि गरेको छ ।

यामाहा एफजेडएक्समा ५ हजार रुपैयाँले मूल्य वृद्धि गरिएको छ । बढेपछिको नयाँ मूल्य ४ लाख ४० हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि एफजेडएक्सको मूल्य ४ लाख ३५ हजार ९०० रुपैयाँ थियो ।

त्यस्तै एफजेडएस भी २ को मूल्य ३ लाख ४७ हजार ९०० रुपैयाँबाट बढेर ३ लाख ५२ हजारख९०० रुपैयाँ पुगेको हो । यामाहा एफजेड सिरिजकै सबैभन्दा कम मूल्यको मोटरसाइकल एफजेड भी २ को मूल्य भने ३ लाख २३ हजार ९०० रुपैयाँबाट ५ हजार रुपैयाँले बढेर ३ लाख २८ हजार ९०० रुपैयाँ पुगेको छ ।

स्कुटरतर्फ यामाहाको चर्चित स्कुटर रेजेडआर १२५को स्ट्रीट र्याली र रेजेडआर १२५ एफआईको मूल्य वृद्धि भएको छ । यी दुई स्कुटरको मूल्य क्रमशः ८ हजार र ७ हजार रुपैयाँले वृद्धि भएको छ । यामाहा रेजेडआर १२५ स्ट्रीट र्यालीको नयाँ मूल्य २ लाख ९६ हजार ९०० रुपैयाँ र रेजेडआर १२५ एफआईको मूल्य २ लाख ६९ हजार ९०० रुपैयाँ निर्धारण भएको हो ।

यसका अलावा अन्य मोटरसाइकल तथा स्कुटरको मूल्य भने यथावत् नै रहेको छ ।


Back_to_top