काठमाडौं । जापानी अटोमोबाइल ब्राण्ड मित्सुबिशीको चर्चित एसयूभी पजेरोले ५ वर्षपछि कमब्याक गरेको छ । कम्पनीले पाँचौं पुस्ताको एसयूभीको रुपमा नयाँ पजेरो सार्वजनिक गरेको हो ।
कम्पनीले सन् २०२१ मा पजेरोको विश्वव्यापी उत्पादन र बिक्री स्थगन गरेको थियो । मित्सुबिशीले ५ वर्षपछि पजेरोलाई अझ रग्ड डिजाइन, ल्याडर फ्रेम च्यासिस, तीन लहर सिट र शक्तिशाली २.४ लिटर टर्बोचाज्र्ड डिजेल इन्जिनका साथ बजारमा ल्याएको हो ।
कम्पनीले अयाँ पजेरो अफरोड शैलीलाई निरन्तरता आकर्षक डिजाइनमा लयाएको छ । नयाँ पजेरो मित्सुबिशी ट्राइटन पिकअपकै प्लेटफर्ममा आधारित भए पनि यसको सस्पेन्सन र क्याबिन भने पूर्ण रूपमा छुट्टै र नयाँ छ । यसमा सोलिड रियर एक्सेल, चारै पाँग्रामा कोइल स्प्रिङ र डिस्क ब्रेकका साथै फोर ह्वील ड्राइभ सिस्टम छ ।
यसको अगाडिको भागमा ठाडो ग्रिल, लहरै मिलाइएका एलइडी डीआरएल, गोलाकार एग्जुलरी बत्ती र स्क्वायर बम्पर दिइएको छ । पछाडिको भागमा लाइट बारमा ठूलो अंग्रेजीमा ‘पजेरो’ अक्षर, ठाडो टेललाइट र कालो क्ल्याडिङ राखिएको छ।

नयाँ पजेरोमा शक्तिशाली २.४ लिटर फोर सिलिण्डर टर्बोचाज्र्ड डिजेल इन्जिन छ । यो ट्राइटनमा प्रयोग गरिएको इन्जिनमा आधारित छ । तर पिकअपको दोहोरो टर्बो बनावटको सट्टा यसमा एउटा मात्र टर्बोचार्जर प्रयोग गरिएको छ। यो इन्जिनले २०१ हर्ष पावर र ४८० एनएम टर्क उत्पन्न गर्छ। यसमा अपग्रेड गरिएको ८ स्पीड अटोमेटिक गियरबक्स छ ।
तीन लहर सिट भएको नयाँ पजेरोको क्याबिन निकै प्रिमिय र आधुनिक छ । यसमा १४.३ इन्चका दुईवटा स्कीक्रन, लेदर सिट, प्यानोरामिक सनरूफ र थ्री जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता फिचर छन । ड्यासबोर्डमा ट्यान र कालो रङ मिलाइएको छ । साथै, यसमा गाडीको उचाइ, ढल्किएको कोण र अगाडि(पछाडिको कोण जस्ता जानकारी देखाउने अफरोड डिस्प्ले पनि छ। फोर ह्वील ड्राइभ प्रणालीको सहज नियन्त्रणका लागि गियर लिभरको छेउमा रोटरी टेरेन सेलेक्टर राखिएको छ।
मित्सुबिशीलाई नयाँ पजेरोलाई आफ्नो लाइनअपमा आउटल्याण्डर भन्दा माथिको श्रेणिमा राखेको छ ।कम्पनीले नयाँ पजेरो थाइल्याण्डमा उत्पादन र पहिलो बिक्री गर्नेछ । सन् २०२६ भित्रै जापान र अष्ट्रेलिया तथा २०२७ देखि आसियान, ल्याटिन अमेरिका, मध्य पूर्व र अन्य क्षेत्रहरूमा लगभग १०० देशहरूमा उपलब्ध गराउने कम्पनीको योजना छ ।
पजेरो नाम सन् १९८१ देखि मित्सुबिशीको एसयूभी शृंखलाको हिस्सा रहँदै आएको छ। पहिलो पुस्ताको मोडलले कडा अफ रोडरको रूपमा आफ्नो पहिचान बनाएको थियो भने पछिल्ला पुस्ताहरूले अन्तर्राष्ट्रिय र्याली प्रतियोगिताहरू र जापान, अस्ट्रेलिया तथा एसियाका अन्य बजारहरूमा ध्यान आकर्षित गरेका थिए।
तेस्रो र चौथो पुस्ता परम्परागत ल्याडर फ्रेम ढाँचाबाट टाढा गएका थिए । सन् २०२१ मा चौथो पुस्ताको उत्पादन बन्द हुनुअघि करिब १५ वर्षसम्म बिक्रीमा रहेको थियो।

नेपालमा पनि पजेरो निकै चर्चित छ । राजनीतिक तहमा ‘पजेरो काण्ड’ले समेत परिचित छ । वि.सं. २०५२ मा तत्कालीन शेरबहादुर देउवा सरकारले गठबन्धनका सांसदहरूलाई खुसी पार्न व्यक्तिगत प्रयोजनका लागि पजेरो आयातमा कर छुट दिएको थियो । अधिकांश सांसदहरूले उक्त सुविधाको दुरुपयोग गर्दै आफ्नो नाममा पजेरो आयात गरी व्यापारी, तस्कर र बिचौलियाहरूलाई बेचेका थिए । विश्व बजारमा बिक्री सुरू भएपछि नयाँ पजेरो सम्भवतः नेपाली बजारमा पनि आउने छ ।

