मोटरसाइकलमा नयाँ मोडलको खडेरी !

काठमाडौं । नेपालमा सर्वाधिक विक्री हुने दुई पाङ्ग्रे सवारीसाधनमा नयाँ मोडल खासै आउन छाडेका छन् । विश्वभर कोभिड १९ को संक्रमण बढ्न थालेदेखि नै नयाँ मोडलका मोटरसाइकल र स्कुटरको उत्पादनमा चल्तीका ब्राण्डले चासो देखाएका छैनन् ।

नेपालमा सबैभन्दा धेरै विक्री हुने १२५ देखि २०० सीसी सेग्मेन्टमा पछिल्ला दुई वर्षमा नयाँ मोडल आएका छैनन् भन्दा फरक पर्दैन । यस बीचमा टीभीएसले १२५ सीसी सेग्मेन्टमा रेडर १२५, बजाजले डोमिनार २५०, यामाहाले १२५ सीसीको स्कुटर, अप्रिलिया तथा बेनेलीले नयाँ स्कुटर र होन्डाले हर्नेट २.० नेपाल ल्याएका छन् ।

सबै ब्राण्डले विगत २ वर्षभन्दा बढीको समयदेखि अपग्रेड गरेका मोडलहरु भने ल्याएका छन् । कम्पनीहरुले पछिल्ला दिनमा २५० सीसीभन्दा माथिका उत्पादनमा ध्यान केन्द्रीत गर्दा सानो सेग्मेन्टमा नयाँ मोटरसाइकल आउन नसकेको विक्रेता कम्पनीहरुको भनाई छ । अघिल्ला वर्षहरुमा जस्तै यस वर्षपनि बजारमा खासै नयाँ मोडल आउने देखिदैन ।

बजाजले नेपालमा पल्सर सिरिज र एनएस सिरिजको अलावा २५० सीसी सेग्मेन्टमा पहिलो पटक पल्सर ल्याउने सम्भावना छ । तर, २५० सीसीको पल्सर ल्याएर आफ्नो २२० एफको विक्री घटाउने पक्षमा बजाज देखिएको छैन ।

यो वर्ष नयाँ मोडल बजारमा उतार्न यामाहा भने तयार भएको बुझ्न सकिन्छ । यामाहाको आधिकारीक वितरक एमएडब्लूले नेपालमा परिक्षण गरिरहेको एफजेड-एक्स १५० नेपालमा विक्री सुरु हुनेछ । क्लासिक रेट्रो डिजाइनमा तयार भएको यो मोटरसाइकल अबको केही दिनमा विक्री सुरु हुने देखिन्छ ।

सुजुकीको आधिकारीक वितरक भिजी सुजुकीले एभिनिस १२५ स्पोर्टी स्कुटर बजारमा ल्याउने तयारी गरेको छ । नेपालमा स्पोर्टी स्कुटरको वार्षिक सेल्स करिब १ लाख यूनिट पुगेको छ । यस्तोमा यही सेग्मेन्टमा आउन लागेको एभिनिसले बजारमा आफ्नो प्रभाव कस्तो बनाउँछ त्यो हेर्न भने केही समय कुर्नु पर्ने हुन्छ ।

हिरोले पनि यो वर्ष खासै नयाँ मोडल नेपाल ल्याउने देखिदैन । अपग्रेड गरिएको एक्सपल्स २०० फोर भी भारतमा विक्री सुरु भइसकेको छ भने पहिलो इलेक्ट्रीक स्कुटर बजारमा ल्याउने तयारी गरिरहेको छ । नेपाली बजारमा एजनीएम हिरोले एक्सपल्स २०० फोर भि ल्याउन सक्नेछ ।

होन्डाले भने एनएक्स २०० एड्भेन्चर मोडल थप गर्ने देखिएको छ । कम्पनीले ल्याउने यो नयाँ मोडल भारतमा होन्डाले उत्पादन गरेको पहिलो एड्भेन्चर मोटरसाइकल हो ।

टीभीएसले तत्काल नयाँ मोडल ल्याउने देखिदैन । यद्यपी नेपालमा पहिलो पटक इलेक्ट्रीक स्कुटर ल्याउने योजनामा जगदम्बा मोटर्स हुनसक्छ ।


Back_to_top