नयाँ वर्ष अफरपछि ४ ब्राण्डले मोटरसाइकलको मूल्य बढाए

काठमाडौं । नयाँ वर्ष लागेसँगै ग्राहकलाई स्कीम दिएका मोटरसाइकल विक्रेता ब्राण्डले मोटरसाइकलको मूल्य बढाएका छन् । चैतमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो सदस्यहरुले विक्री गर्ने सवारीसाधनको खुद्रा विक्री मूल्य प्रकाशन गरेपछि विभिन्न कम्पनीले स्कीम ल्याए ।

विशेषगरी बैंकहरुले सवारीसाधनको एलसी खोल्न रोकेपछि बैशाखमा मोटरसाइकल कम्पनीहरुले मूल्य बढाएका हुन् । बजारमा उपलब्ध चल्तीका ब्राण्ड बजाज, होन्डा, टीभीएस र यामाहाले मूल्य बढाएका हुन् ।

कम्पनीहरुले नयाँ वर्षलाई लक्षित गरेर स्कीम पनि ल्याएभने मूल्यपनि २ हजारदेखि २० हजारसम्मले बढाए । यसरी मूल्य बढाउने मध्ये ४ कम्पनीको नयाँ मूल्य यस प्रकार रहेको छ ।

यामाहा

यामाहाको आधिकारीक वितरक एमएडब्लू इन्टरप्राइजेजले बैशाख लागेसँगै आफ्नो मोटरसाइकल तथा स्कुटरको नयाँ मूल्यसूची प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको नयाँ मूल्यसूचीमा ४ हजारदेखि २० हजार रुपैयाँसम्मले मूल्य बढेको छ । यामाहाले मोटरसाइकलतर्फ सबैभन्दा धेरै एक्सटीजेड १५० मा २० हजार रुपैयाँ मूल्य बढाएको हो ।

होन्डा

होन्डाले पनि नयाँ वर्ष लागेपछि मूल्य बढाएको हो । सयाकार ट्रेडिङ कम्पनी प्रालिले स्कुटर र मोटरसाइकलको मूल्य ४ हजारदेखि ९ हजार रुपैयाँसम्मले बढाएको हो । होन्डाले एक्सब्लेड, युनिकर्न र साइनमा ९ हजार रुपैयाँले मूल्य बढाएको हो । स्कुटरतर्फ डिओ र एक्टीभाको मूल्य ८ हजार रुपैयाँले वृद्धि भएको छ । साना मोटरसाइकल तथा स्कुटरको मूल्य बढेपनि विग बाइक सेग्मेन्टमा भने मूल्य यथावत राखिएको छ ।

टीभीएस

यामाहा र होन्डाले मूल्य बढाएसँगै टीभीएसले पनि बैशाख लागेपछि मूल्य बढाएको हो । नयाँ मूल्यसूची अनुसार टीभीएस मोटरसाइकलमा ९ हजार रुपैयाँसम्मले मूल्य बढेको हो । त्यस्तै टीभीएसले स्कुटरतर्फ विगो एफआई र एनटर्क १२५ ड्रमको मूल्य ८÷८ हजार रुपैयाँले वृद्धि भएको हो ।

बजाज

बजाजले पनि बैशाखको पहिलो हप्ताबाट मूल्य वृद्धि गरेको हो । हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले आफ्नो ५ मोडलका मोटरसाइकलमा मूल्य बढाएको हो । बजाजले मोटरसाइकलको मूल्य ३ हजार रुपैयाँदेखि १० हजारसम्मले वृद्धि गरेको छ ।


Back_to_top