असार मसान्तपछि पनि गाडी आयात खुल्नेमा शंका !

काठमाडौं । सरकारले वैदेशिक मुद्रा संचिति घट्दै गएसँगै करिब एक दर्जन बस्तुको आयात असार मसान्तसम्मको लागि प्रतिबन्ध लगाएको छ । सरकारले नै प्रतिबन्ध लगाए पछि अहिले पेट्रोलियम पदार्थबाट चल्ने जीप÷कार÷भ्यानको अर्डर (नयाँ एलसी) पूर्णरुपमा रोकिएको छ ।

चालु आर्थिक वर्षको ९ महिनामा करिब १३ अर्व रुपैयाँको पेट्रोलियम पदार्थबाट चल्ने कार आयात भएको थियो । तर, ठूलो परिमाणमा आयात हुने अन्य बस्तुको आयात नरोकेर पेट्रोलियम पदार्थको खपत घटाउन भन्दै कारको आयात रोकिएको वाणिज्य मन्त्रालयले स्रोतले दावी गरेको छ ।

‘अहिले जसरी पनि आयात घटाउनु पर्ने दवावमा सरकार रहेको छ । केही महिना आयात रोक्दा भुक्तानी संन्तुलनमा कम दवाव पर्ने विश्वास लिएका छौं । करिब एक दर्जन बस्तुको आयात रोक्दा तीन महिनामा ३२ अर्व जतिको आयात कम हुन्छ’, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले भने ।

पछिल्ला दुई महिनामा रेमिट्यान्स आयात बढेको र निर्यात ठिकठाक भएको कारण असार अन्तिमसम्ममा अर्थतन्त्रमा परेको दवाव कम हुने अर्थमन्त्रालय स्रोतको भनाई छ । त्यसैको आधारमा अन्तरमन्त्रालय छलफल पछि ती बस्तुहरुको आयात रोकिएको हो ।

‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार वृद्धि हुँदा अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष झण्डै दोब्बर बढी रकम तिरेर ल्याउनु परेको छ । यसले समग्र हाम्रो आयत निर्यात व्यवस्थालाई नै अफ्ठ्यारो पारेको देखिन्छ’, अर्थशास्त्री केशब आचार्यले भने ।

आचार्यका अनुसार असार मसान्तसम्ममा पनि सबै सुचक दुरुस्थ हुने अवस्था छैन । त्यसैले अहिले प्रतिबन्ध लागेका बस्तुको आयात खुल्छ भन्न सकिदैन ।

आयातकर्ता कम्पनीहरु पनि असार मसान्तबाट आयात खुल्छ वा खुल्दैन भन्ने विषयमा चिन्तित देखिन्छन् । अधिकांश आयातकर्ताहरु अहिले नै गाडी दिन नसक्ने अवस्थामा पुगेको बताउँछन् ।

‘हामीले अवस्थालाई विष्लेषण गरेर सरकारले प्रतिबन्ध लगाउँदा पनि सहयोग गरेका छौं । अब सबै ब्यवसायीहरु गाडीको अभावमा शोरुम बन्द गर्ने अवस्थामा पुग्न लागेका छन् । त्यसैले यो क्षेत्रलाई बचाउन पनि सरकारले साउन १ गतेबाट आयात खुल्ला गर्नु पर्छ’, नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुब थापाले भने ।

सरकारले ९ महिनामा १२÷१३ अर्वको आयात हुँदा त्यतिकै आत्तिएर प्यासेन्जर कारको आयात बन्द गरेको बताउँदै थापा भन्छन्, ‘१२ अर्वको आयातमा ३२ अर्व भन्सार विन्दुमा राजस्व दिने क्षेत्र बन्द गरेर सरकारले के गर्न खोजेको हो बुझ्न सकिएको छैन ।’

सबै सरोकारवालाहरुले साउनबाट पनि प्यासेन्जर कार आयात खोलिएन भने कम्पनीहरुले गरेको अर्वौको लगानी संकटमा पर्ने र अहिले दिइरहेको रोजगारी पनि कटौती गर्नु पर्ने अवस्था आउने बताउन थालेका छन् । तर, एक दर्जन बस्तुको आयात रोकेपनि अन्य बस्तुको आयात बढ्दा वैदेशिक मुद्रा संचिति बढ्न सक्ने देखिएको छैन ।


Back_to_top