हिजोआज विश्वभर नै स्पोर्टस युटिलिटी भेइकल (एसयूभी)को माग बढ्दै गइरहेको छ । त्यहीअनुरुप कम्पनीहरूले पनि उपभोक्ताको चाहनाअनुरुपकै एसयूभी मोडलहरू सार्वजनिक गर्ने गरेका छन् ।
भारतीय बजारमा पनि एसयूभी सेगमेन्टका सवारीको माग बढ्दै गइरहेको तथ्यांक छ । उसोत नेपालमा पनि एसयुभी क्रेज निकै बढ्दै गएको छ ।
भारतमा हुन्डाई, महिन्द्रा, टाटालगायत कम्पनीहरूले एसयूभी सेगमेन्टका सवारी सार्वजनिकको तयारी गरिरहेका छन् । ती मध्ये केही मोडल फेसलिफ्ट हुनेछन् भने केही नयाँ मोडल हुनेछन् ।
यस्तैमा २०१८ मै भारतीय बजारमा सार्वजनिक हुनसक्ने एसयूभी कारबारे यहाँ चर्चा गरिएको छ ।
महिन्द्रा नयाँ सव–कम्प्याक्ट एसयूभी

भारतीय सवारी उत्पादक कम्पनी महिन्द्राले आफ्नो कोरियन सब्सिडारी स्याङ्योङ्सँगको सहकार्यमा दुईवटा कम्प्याक्ट एसयूभीको विकास गरिरहेको छ । नयाँ कम्प्याक्ट एसयूभी स्याङ्योङ्को टिभोलीमा आधारित हुनेछ । यो कार २०१८ मै भारतीय बजारमा सार्वजनिक हुनेछ । महिन्द्राको नयाँ कम्प्याक्ट एसयूभीको मूल्य ७ लाखदेखि १२ लाख भारतीय रुपैयाँबीच हुने अनुमान छ ।
ड्याटसन एसयूभी
यो वर्ष ड्याटसनले भारतीय बजारमा एसयूभी गाडी सार्वजनिक गर्नेछ । ड्याटसनले सार्वजनिक गर्न लागेको क्रस एसयूभी २०१६ को अटो एक्सपोमा सार्वजनिक गरेको थियो ।
यो गाडी इन्डोनेसियामा यही वर्षसमेत प्रदर्शन भएको थियो । सार्वजनिक गर्ने मिति नबताइएको भए पनि ड्याटसन क्रस एसयूभी यही वर्षको फेस्टिभ सिजनमा भारतीय बजारमा आउनेछ ।
ड्याटसन क्रसमा १.२ लिटर थ्री सिलिन्डर इञ्जिन हुने छ । यो क्रस रेनो सीएमएफ–ए प्लेटफर्ममा बनाइएको छ र गो र गो प्लसभन्दा आकारमा ठूलो हुनेछ । यो कारको मूल्य ६ लाखदेखि ८ लाख भारतीय रुपैयाँको बीचमा हुने अनुमान गरिएको छ ।
हुन्डाई कारलिनो

हुन्डाईले पनि कम्प्याक्ट एसयूभी कारलिनोको कन्सेप्ट २०१६ को अटो एक्सपोमा सार्वजनिक गरेको थियो । यसलाई २०१८ को अटो एक्सपोमा समेत राखिएको थियो । यो कार क्रेटा र सान्टाफेको बेसमा बनाइएको कम्पनीले जनाएको छ ।
हुन्डाई कारलिनो नयाँ सव–कम्प्याक्ट एसयूभी हो । भारतीय बजारमा कारलिनोले मारुती सुजुकी भिटारा ब्रेजा, टाटा नेक्सन र फोर्ड इकोस्पोर्टसँग प्रतिस्पर्धा गर्नुपर्ने अनुमान गरिएको छ ।
कारलिनो सार्वजनिक भएसँगै हुन्डाईले आफ्नो समग्र एसयूभीको बजारमा सकारात्मक प्रभाव पर्ने विश्वास लिएको छ । २०१८ को अन्त्यमा सार्वजनिक हुने अनुमान गरिएको यो कारको मूल्य ८ लाख भारतीय रुपैयाँ हुनेछ ।
होन्डा सीआर–भी

होन्डाले २०१८ को अटो एक्सपोमा न्यू जेनेरेसन सीआर–भी सार्वजनिक गरेको थियो र यही वर्ष भारतीय बजारमा ल्याउने घोषणासमेत गरेको छ । होन्डाकाअनुसार नयाँ सीआर–भी डिजेल इञ्जिनमा समेत आउनेछ । जसले १२० बीएचपी पावर र ३ सय एनएम टर्क दिन्छ । होन्डा सीआर–भी नोभेम्बरमा सार्वजनिक हुनेछ ।
टाटा हारियर

टाटाले निक्कै चर्चा गरेको नयाँ एसयूभीको नाम हारियर राखेको छ । यो कार जगुअर ल्यान्ड रोभरको वेसमा बन्नेछ । ५ सिटर एसयूभी नयाँ जेनेरेसन प्लेटफर्ममा निर्माण गरिएको छ, जुन २०१८ को अटो एक्सपोमा एचफाइभएक्स कम्सेप्टमा सार्वजनिक भएको छ । टाटाले यो कारको व्यावसायिक सार्वजनिकीकरण २०१९ को सुरुवातमा हुने जनाएको छ । हारियर स्पोर्टस् र डाइनामिक लिक्समा आउनेछ ।
फोर्ड इन्डेभर फेसलिफ्ट

फोर्डको इन्डेभर फेसलिफ्ट भर्सन यो वर्षको अन्त्य वा अर्को वर्षको सुरुवातमा भारतीय बजारमा आउनेछ । २०१६ मा इन्डेभरको अपडेटेड भर्सन आएको थियो । फेसलिफ्ट भर्सनमा नयाँ बम्पर, नयाँ हेडल्याम्प, २० इञ्च एलोय ह्वीललगायत विशेषता हुनेछन् । इन्डेभर फेसलिफ्ट २.० लिटर डिजेल इञ्जिनमा समेत आउने अनुमान छ ।


