काठमाडौं । विभिन्न गाडी बिक्रेता कम्पनीले अफरहरु सार्वजनिक गरेसँगै एनआईसी एशिया बैंकले सस्तो व्याजदरमा कर्जा दिने स्कीम ल्याएको छ ।
बैंकले जम्मा ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत मात्र प्रशासनिक शुल्कमा सवारी कर्जा उपलब्ध गराउने योजना सार्वजनिक गरेको हो । कर्जाको प्रस्तावीत ब्याजदर एक वर्षसम्मका लागि परिवर्तन नहुने समेत व्यवस्था गरेको बैंकले जनाएको छ ।
सुपर चमत्कारिक सवारी कर्जा अन्तर्गत ५ लाखदेखि अधिकतम २ करोड कर्जा सीमा कायम गरिएको छ । सवारी धितो राखेको हकमा कर्जा अवधि अधिकतम १० वर्षसम्म र सवारीका साथै अन्य सम्पति दुबै धितो राखेमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरेको छ ।
बैंकले सुपर चमत्कारिक सवारी कर्जाका साथै सुपर चमत्कारिक घर कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा समेत सार्वजनिक गरेको छ। बैंकले यी तीन वटा कर्जाबारे ४८ घण्टाभित्र नै निर्णय दिने व्यवस्था समेत गरेको जनाएको छ ।

