काठमाडौं । विश्व अटोमोवाइल बजारमा पार्टस् र चिप्सको उपलब्धता बढेसँगै ईभी उत्पादन तथा सप्लाईमा सहजता देखिन थालेको छ । विश्वका सबै प्रमुख अटोमोवाइल कम्पनीहरु ईभी उत्पादमा केन्द्रित भएसँगै चाइनिज बजारमा मूल्य घटाउने प्रतिस्पर्धा सुरु भएको हो ।
सन् २०२३ को सुरुमा नै अमेरिकी लग्जरी ईभी उत्पादक कम्पनी टेस्लाले आफ्नो मोडल थ्री र मोडल वाईको मूल्यमा १७ प्रतिशतले कटौती गरेको थियो । त्यसपछि टेस्लालाई पक्ष्याउँदै एक्सपेङ, अइटो र टोयोटाले समेत आफ्नो ईभीको मूल्य घटाएका थिए ।
गत हप्ता मात्रै टोयोटाले आफ्नो बीजेडफोरएक्स एसयूभीको मूल्य ४ हजार डलरले घटाएको थियो । अब भने जापानकै अर्को अटोमोवाइल कम्पनी निसानले समेत टोयाटालाई पक्ष्याउने भएको हो ।
निसान चाइनाको लागि फ्ल्यागसिप ईभी मोडल आरियामा भारी छुट अफर घोषणा गरेको छ । कम्पनीले आरियाको सबै ४ भेरियन्टमा ८ हजार ७५० डलरको छुट घोषणा गरेको हो । चाइनामा आरियाको दुईवटा सिंगल मोटर र दुईवटा डबल मोटर भेरियन्ट बिक्री भइरहेको छ ।
ईभीको मूल्य भारतीय बजारमा समेत घटेको छ । भारतको प्रमुख ईभी उत्पादक कम्पनी टाटा मोटर्सले समेत गत महिना नेक्सन ईभीको विभिन्न भेरियन्टमा ३१ हजारदेखि ८५ हजार भारतीय रुपैयाँसम्मले मूल्य घटाएको थियो ।
निसान आरिया निकट भविष्यमा नै नेपाल ल्याउने तयारी भइरहेको मोडल हो । कम्पनीले यसलाई सन् २०२३ मा नै नेपाली बजारमा उतार्ने अनुमान गरिएको छ ।


