काठमाडौं । निसानको आधिकारीक बिक्रेता पायोनीयर मोटोकर्पले ई-पावर एसयूभी नेपालमा बिक्री सुरु गर्ने भएको छ । कम्पनीले भोलिबाट बिक्री सुरु गर्न लागेको ई-पावर मोडल एक्सट्रेल हो ।
कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आउने निसान एक्सट्रेल निकै सफल मोडल मानिन्छ । कम्पनीले यसमा हाइब्रिड टेक्नोलोजी प्रयोग गरेको छ । यहि टेक्नोलोजीलाई ‘ई-पावर’ भनिएको हो ।
निसानले एक्सट्रेललाई ई-पावर नामबाट निकै ठूलो ब्राण्डिङ गरेको छ । यसमा १.५ लिटर टर्बो पेट्रोल इन्जिनको साथ इलेक्ट्रीक मोटर दिइएको छ । यसको इन्जिन पावर २०१ पीएस छ भने इलेक्ट्रीक मोडमा २११ पीएस पावर पाउन सकिन्छ ।
नियमित मोडल एक्सट्रेलकै फेसलिफ्ट भर्सनको रुपमा आउन लागेको नयाँ मोडल पेट्रोल खपतको आधारमा निकै किफायती मानिएको छ । यसलाई न्यू इनर्जी भेहिकलको रुपमा लिने गरिन्छ । इलेक्ट्रीक कारलाई जस्तो यसलाई चार्ज गर्न विजुलीमा जोडिरहनु पर्दैन । यसले प्रतिलिटर २० किलोमिटर माइलेज प्रदान गर्छ । जुन यति ठूलो गाडीमा निकै राम्रो हो ।

नयाँ एक्सट्रेलमा १८ इन्चको ह्वील, सबै एलइडी लाइट, मोसन भि सेप ग्रिल, ठूलो पानारोमिक शनरुफ, ५८५ लिटरको ठूलो बुट स्पेस पाउन सकिन्छ ।
निसानको प्रो-पाइलट टेक्नोलोजी प्रयोग गरिएको कारमा एडाप्टीभ क्रुज कन्ट्रोल लगायत एडास फिचर यसमा रहने छ । प्रो-पाइलट पार्किङ सुविधा समेत पाउन सकिन्छ ।
नयाँ एक्सट्रेलको ड्यासबोर्ड पनि निकै आकर्षक छ । डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, १२.३ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, हेडअप डिस्प्ले लगायतका फिचर छन् ।
कम्पनीले यसको आधिकारीक मूल्य बाहिर नल्याएपनि टोयोटा र्याभफोरसँग सिधा प्रतिस्पर्धा हुने भएकोले यसको मूल्य १ करोड ८५ लाखदेखि १ करोड ९० लाख भित्रै रहने अनुमान गर्न सकिन्छ ।

