काठमाडौं । निशानले आफ्नो नयाँ कम्प्याक एसयूभी किक्सको भारतमा केहि समय अगाडिदेखि टेष्ट गरिरहेको थियो । कम्पनीले दिएको जानकारी अनुशार किक्सको लन्चिङ २०१९ को जनवरीमा गर्ने भएको छ । भारतीय बजारमा सँगै नेपाली बजारमा पनि किक्स सार्वजनिक हुने निशानको नेपालको लागि आधिकारीक बिक्रेता पायोनियर मोटोकर्पले जानकारी दिएको छ ।
‘भारतीय बजारमा जनवरी १९ मा आधिकारी लन्च भएसँगै नेपाली बजारमा यसको बिक्री सुरुगर्ने तयारी गरेका छौं, मूल्य अबको केहि दिनमा निर्धारण हुनेछ’ कम्पनीका जनरल मेनेजर ज्ञानेन्द्र चन्दले मेरोअटोसँग भने ।
किक्ससँगै निशानले विश्व बजारमा ल्याएका सबै लाईनअप भारतीय बजारमा ल्याउनेसमेत घोषणा गरेको छ ।
भारतमा निर्माण भएको निशान किक्स रेनो डस्टर र निशानको टेरानोकै प्ल्याटफर्ममा बनाइएकाले यसको इन्टेरियरमा प्रसस्त स्थान तथा ठूलो बुट स्पेस रहने छ ।
यसको लम्बाई र ह्वीलबेस पनि रेनो डस्टरको जस्तै रहने छ । ५ सिटको क्षमताको यस एसयूभीमा ८ इन्चको इन्फोटेन्मेन्ट सिस्टमका साथै अन्य धेरै प्रिमियम फिचरहरु रहेको जनाइएको छ ।
यो गाडी पेट्रोल र डिजल दुवै भर्सनमा उपलब्ध हुनेछ । पेट्रोल भर्सनमा १.५ लिटरको इन्जिन रहनेछ जसले १०४ बीएचपी पावर प्रदान गर्ने छ भने, ५ स्पीडको सीभीटीसहितको म्यानुअल गियरबक्समा बजारमा आउने छ । डिजल भर्सनमा पनि १.५ लिटरको इन्जिन रहनेछ जसले १०८ बीएचपी पावर उत्पादन गर्ने छ । यसमा ६ स्पिडको म्यानुअल ट्रास्मीसन रहने छ ।
यसको भारतीय बजारको मूल्य ९ लाख ५० हजार देखि १५ लाखसम्म हुने अनुमान गरिएको छ ।

