निसान मोटर्सले आफ्नो प्रतिक्षित एसयूभी ‘किक्स’लाई बजारमा उतारेको छ । भारतको मुम्बाईमा भएको एक कार्यक्रममा कम्पनीले किक्सलाई सार्वजनिक गरेको हो । तर, कम्पनीले यसको विक्री भने २०१९को जनवरीबाट सुरुगर्ने जनाएको छ ।
भारतीय बजारमा निसान किक्सको सिधा टक्कर हुन्डाई क्रेटासँग हुने अनुमान सुरु भएको छ ।
भारतीय बजारमा बिक्री सुरुभएसँगै नेपाली बजारमा पनि किक्सको बिक्री वितरण सुरुहुने निसानको नेपालको लागि आधिकारीक बिक्रेता पायोनियर मोटोकर्पले जानकारी दिएको छ ।
‘भारतीय बजारमा २०१९को जनवरीमा आधिकारी लन्च भएसँगै नेपाली बजारमा यसको बिक्री सुरुगर्ने तयारी गरेका छौं, मूल्य अबको केहि दिनमा निर्धारण हुनेछ’ कम्पनीका जनरल मेनेजर ज्ञानेन्द्र चन्दले मेरोअटोसँग भने ।
अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण भइरहेको किक्स र भारतीय बजारमा सार्वजनिक भएको किक्सको लुक्स उस्तै रहेको छ भने, डायमेन्सनमा भने केही फरक गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा रहेको किक्सको लम्बाई ४.३ मिटर रहेको छ भने भारतमा उत्पादन भएको किक्स ४.४ मिटर लामो रहेको छ ।
यो गाडी पेट्रोल र डिजल दुवै भर्सनमा उपलब्ध हुनेछ । पेट्रोल भर्सनमा १.६ लिटरको चार सिलीण्डर इन्जिन रहनेछ जसले १०३ बीएचपी पावर तथा १४२ एनएम टर्क प्रदान गर्छ भने, ५ स्पीडको सीभीटीसहितको म्यानुअल गियरबक्समा बजारमा आउने छ । डिजल भर्सनमा १.५ लिटरको इन्जिन रहनेछ जसले १०८ बीएचपी पावर र २४५ एनएम टर्क उत्पादन गर्ने छ ।
यो एसयूभी अन्तर्राष्ट्रिय बजारको तुलनामा भारतीय उत्पादनमा धेरै इन्टेरिएर स्पेश रहेको छ भने, बुट स्पेशसमेत धेरै रहेको छ । भारतमा किक्सलाई बीओ प्ल्याटफर्ममा उत्पादन गरिएको छ, उही जापानलगायत अन्य देशमा भी प्ल्याटफर्ममा उत्पादन गरिदै आएको छ । बीओ रेनोले डेभलप गरेको प्ल्याटर्फम हो, जसमा डस्टर, क्याप्चरजस्ता मोडल उत्पादन हुँदै आएका छन् ।
यसमा भी मोशन फ्रन्ट ग्रिल, मेसिब ह्वील आर्क, रेक्ड ए पिलर एलइडी हेडल्याम्प र बुमरेज सेप टेलल्याम्प दिइएको छ ।
युवा पुस्तालाई आकर्षित गर्न नोवल कलरमा एसयूभीको ड्यासबोर्ड सजाईएको छ । ८ इन्चको टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ, जसले एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने छ । साथै, यसमा अटोमेटीक क्लाईमेट कन्ट्रोलजस्ता फिचर दिइएको छ ।

