काठमाडौं । निसानले भारतमा सफलताको स्वाद चाख्न पाएको छैन । कम्पनीले केही दिनअघि मात्रै आफ्नो इन्ट्री लेवल ह्याचव्याक कार माइक्रा र इन्ट्री लेवल सेडान कार सन्नीलाई आफ्नो वेभसाइटबाट हटाएको थियो । यस बीचमा कम्पनीले आफ्नो बजार रणनीतिमा परिवर्तन गर्ने संकेत गरेको छ ।
निसानले अब भारतमा आफ्नो ध्यान साना एसयूभीमा गर्ने भएको हो । कम्पनीले ल्याउन लागेको नयाँ सब फोर मिटर एसयूभी म्याग्नाइटलाई मूल्यका हिसावले सबैभन्दा सस्तो निर्धारण गर्ने अनुमान गर्न थालिएको छ । भारतमा म्याग्नाइटको सुरुवाति मूल्य करिब ५ लाख २५ हजार भारु तोकिने संभावना रहेको छ ।
यदि यसको मूल्य अनुमान अनुसार नै निर्धारण हुने हो भने यसको नेपालमा मूल्य करिब २८ लाख रुपैयाँ हाराहारीबाट सुरु हुने अनुमान गर्न सकिन्छ । उक्त मूल्य निसान माइक्राको बराबर नै हो । यदि यही मूल्यमा आयो भने प्रतिस्पर्धी भन्दा ५ लाख सस्तो हुने छ ।
माइक्राको मूल्यमा आउने संभावना रहेको निसान म्याग्नाइटमा के कस्ता फिचर अपेक्षा गर्न सकिन्छ भन्ने विषयमा हामीले यहाँ उल्लेख गर्न खोजेका छौं ।
यूनिक लुक
निसान म्याग्नाइट अहिले बजारमा रहेका सब फोर मिटर एसयूभीको भिडमा निकै स्टाइलिस डिजाइनमा आउने छ । क्रसओभर डिजाइनमा आउने यो गाडीमा चंकी ह्वील आर्कले निकै आकर्षक देखिने छ । यसमा रहने हेडलाईट र टेललाईट दुबै एलइडी रहने छ ।
डियूल टोन कलर अप्सनमा उपलब्ध रहने यो एसयूभीलाई प्रिमियम सेटसहितको अलोय ह्वीलले धेरैको ध्यान खिच्न सक्ने छ ।
डिजेल इन्जिनमा आउँदैन, टर्बो पेट्रोलले लोभ्याउँछ
निकै सानो इन्जिनमा आउने म्याग्नाइटमा १.० लिटर रेगुलर इन्जिन र १.० लिटर टर्बो चार्ज्ड इन्जिनमा उपलब्ध रहेने छ । रेनो ट्राइबरमा रहेको थ्रि सिलिण्डर बिआर १० पेट्रोल इन्जिनले अधिकतम ७२ बीएच पावर र ९६ एनएम टर्क प्रदान गर्छ भने नयाँ १.० लिटर थ्रि सिलिण्डर एचआर १० इन्जिनले अधिकतम ९५ बीएच पावर प्रदान गर्नेछ । नयाँ इन्जिनको विषयमा निसानले केही जानकारी बाहिर ल्याएको छैन । यसमा म्यानुयल वा अटोमेटिक कुन गियरबक्स रहने छ भन्ने अहिले एकिन गर्न सकिदैन ।
ठूलो कारको फिचर समावेस
यसमा निसानले किक्सको धेरै फिचर प्रयोग गर्ने अनुमान यसअघि नै गरिएको थियो । त्यसैले यसलाई धेरैले सुरुमै बेबी किक्स भनेका थिए । कम्पनीले यसमा ३६० डिग्री पार्किङ क्यामेरा, कनेक्ट कार टेक, आकर्षक टचस्कृन, अटो क्लाइमेट कन्ट्रोल, स्टेरिङ माउन्ट कन्ट्रोल जस्ता फिचर दिने छ ।
निकै कम मूल्य
यो सेग्मेन्टमा फोर्ड इकोस्पोर्ट, टाटा नेक्सन, मारुती सुजुकी ब्रेजा, हुन्डाई भेन्यू र महिन्द्रा एक्सयूभी जस्ता मोडल बीच प्रतिस्पर्धा हुने छ । नेपालमा सबैभन्दा कम मूल्यमा उपलब्ध टाटा नेक्सन र हुन्डाई भेन्यूको तुलनामा यसको मूल्य करिब ५ लाख रुपैयाँ कम हुने अनुमान गरिएको छ ।
भारतमा नै यो कारको मूल्य प्रतिस्पर्धी मोडलको तुलनामा करिब १ लाख भारुभन्दा बढीले कम हुने अनुमान गरिएको छ ।
तिहारपछि आउँछ नेपालमा
भारतमा तिहारअघि नै यसलाई बजारमा उतार्ने निसानको तयारी रहेको छ । यस्तोमा यसलाई नेपालमा तिहारको आसपास नै सार्वजनिक गर्ने अनुमान गर्न सकिन्छ ।
निसानको नेपालको लागि आधिकारीक वितरक पायोनियर मोटोकर्पले निसान किक्स पनि भारतमा सार्वजनिक भए लगत्तै नेपालमा सार्वजनिक गरेको कारण यो कारपनि चाँडै नेपाल आउने अनुमान गर्न सकिन्छ ।


