निसान म्याग्नाइटको ७ भेरियन्ट नेपाल आउने

काठमाडौं । निसानको आधिकारीक वितरक पायोनियर मोटोकर्पले सब फोर मिटर एसयूभी म्याग्नाइट विभिन्न ७ भेरियन्टमा नेपाल ल्याउने भएको छ । कम्पनीले म्याग्नाइटको १.० नेचुरल एस्पायर्ड इन्जिनमा ४ भेरियन्ट र टर्बो इन्जिनमा ३ भेरियन्ट नेपाल ल्याउन लागेको हो ।

कम्पनीले नेचुरल एस्पायर्डमा एक्सई, एक्सएल, एक्सभी र एक्सभी प्रिमियम भेरियन्ट ल्याउने छ भने, टर्बो इन्जिनमा एक्सएल, एक्सभी र एक्सभी प्रिमियम भेरियन्ट ल्याउने छ ।

‘नेपालमा म्याग्नाइट विभिन्न ७ भेरियन्टमा उपलब्ध गराउने छौं । फेब्रुअरी दोस्रो सातासम्ममा यसको विक्री सुरु हुने छ’, कम्पनीका डिजिएम ज्ञानेन्द्र चन्दले मेरोअटोसँग भने ।

चन्दका अनुसार म्याग्नाइटको मूल्यभने निर्धारण भएको छैन । केहि दिन भित्रै मूल्य निर्धारण गरेर बुकिङ खुल्ला गर्ने तयारीमा कम्पनी जुटेको छ ।

यसमा १.० लिटर पेट्रोल र १.० लिटर टर्बो पेट्रोल इन्जिन उपलब्ध रहेको छ । यसमा ५ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स उपलब्ध रहेको छ । सानो इन्जिनको कारण यसको मूल्य सेग्मेन्टमा नै अहिलेसम्मकै सबैभन्दा कम हुने अपेक्षा गरिएको छ ।

निसान म्याग्नाइटमा केहि सेग्मेन्ट फर्ष्ट फिचर उपलब्ध रहेको छ । जसमा अराउन्ड भ्यू मोनिटर, ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, मोवाइल होल्डरको साथ रियर आर्मरेष्ट, वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले, इको फङ्सन, कलर र वेलकम एनिमेशन जस्ता फिचरले यसलाई प्रिमियम बनाएको छ ।

कारमा दिइएको लाइटहरु सबै एलइडी प्रयोग गरिएको छ भने ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर र ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टमले ड्यासबोर्डलाई आकर्षक बनाएको छ । सेग्मेन्टमा नै पहिलो पटक उपलब्ध ३६० डिग्री क्यामेराले ग्राहकलाई लोभ्याउने छ ।

सब फोर मिटर सेग्मेन्टमा प्रतिस्पर्धा गर्न आउन लागेको म्याग्नाइटले टाटा नेक्सन, मारुती सुजुकी भिटारा ब्रेजा, हुन्डाई भेन्यू, महिन्द्रा एक्सयूभी ३००, फोर्ड इकोस्पोर्ट, होन्डा डब्ल्यूआरभी जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नु पर्नेछ ।


Back_to_top