निसानको इलेक्ट्रीक ह्याचव्याक, जापानमा रेकर्ड बनाउँदै

sakur

काठमाडौं । जापानी कार उत्पादक निसानले बनाएको सानो ह्याचव्याक कार साकुराले निकै राम्रो चर्चा कमाउन सफल भएको छ । इलेक्ट्रीक कारको निकै सानो बजार रहेको जापानमा कुल ईभी बिक्रीको झण्डै आधा साकुरा सिटी कारको बिक्री भएसँगै यसको चर्चा चुलिएको हो ।

जापानमा निसानको साकुरा मोडल ३५ हजारभन्दा बढि बिकेको हो । यो संख्या जापानमा बिकेको कुल ईभीको झण्डै आधा हो । पछिल्लो समय जापानको अटोमोवाइल बजार पनि बिस्तारै ईभीमा सिफ्टै हुँदै गएको देखिन्छ ।

गत वर्ष सार्वजनिक भएको निसान साकुरालाई जापानी अटोमोवाइल कम्पनी निसान मोटर्स कर्पोरेशन र मित्सुविसी मोटर्स कर्पोरेशन मिलेर तयार पारेका हुन् । साकुराले सन् २०२२ को ‘जापान कार अफ दी इयर’को अवार्ड समेत पाएको थियो ।

सहरी ग्राहकलाई लक्षित गर्दै तयार पारिएको साकुरालाई जम्मा ४.८ मिटरमा टर्न गर्न सकिन्छ । यो कारमा ४७ किलोवाटको इलेक्ट्रीक मोटर छ । त्यो भनेको अधिकतम ६३ हर्सपावर हो । साथै, यसको टर्क भने १९५ न्यूटन मिटर छ ।

sakura interior

कम्पनीले साकुरामा ईको, स्ट्याण्डर्ड र स्पोट्स गरी तीन फरक ड्राइभिङ मोड दिएको छ । कारमा २० किलोवाट आवरको लिथियम आयोन ब्याट्री छ । जसले एक पटकको फुलचार्जमा १८० किलोमिटर रेन्ज दिने डब्लुएलटीसीको टेष्टले देखाएको छ ।

‘प्रोपाइलट ड्राइभर असिस्ट सिस्टम’को साथ तयार भएको साकुरामा अटोमेटिक पार्किङ फिचरसमेत पाउन सकिन्छ । ड्यासबोर्डमा ७ इन्चको एड्भान्स ड्राइभर असिस्ट डिस्प्ले मिटर छ । साथै, इन्फोटेन्टमेन्ट सिस्टमको लागि ९ इन्चको होरिजेन्टल डिस्प्ले पाउन सकिन्छ । उक्त डिस्प्लेमा निसान कनेक्ट न्याभिगेसन सिस्टमका साथै वायरलेस एप्पल कारप्ले कनेक्टीभीटी रहेको छ ।

निसानले सहरी उपभोक्तको मन जित्न यसमा लेदरले मोरिएको टु स्पोक स्टेरिङ ह्वील दिएको छ । झट्ट हेर्दा आकर्षक लाग्ने साकुरामा फिचरहरु पनि प्रिमियम दिइएको छ ।


Back_to_top