ईभीमा चलायमान नेपाल, ५ वर्षमा हिट भए पाँच मोडल

काठमाडौं । नेपालमा इलेक्ट्रीक कारको बिक्री सुरू भएको १२ वर्षभन्दा धेरै भयो । तर, सन् २०१९ को सुरूआतबाट मात्रै ठूला ईभीले चर्चा पाउन थालेको हो । अझ ठ्याक्कै भन्नुपर्दा वि.सं. २०७५ मा हुन्डाई कोना नेपाल आएसँगै ईभीको चर्चा चुलिएको हो ।

चिनियाँ ब्राण्ड बीवाइडीले सुरूमा ठूलो साइजको इलेक्ट्रीक एसयूभी नेपाल ल्याए पनि पब्लिकमा यसले आफ्नो स्थान बनाउन सकेको थिएन । बरु सरकारी निकायमा यसले प्रवेश गरेको थियो । राष्ट्रिय योजना आयोग, नेपाल विद्युत् प्राधिकरण जस्ता सरकारी कार्यालयले बीवाइडी ई ६ किनेका थिए ।

बजारमा ईभीको चर्चा ठूलो साइज र ३०० किलोमिटर माथि रेन्ज दिने गाडीको कारण बढेको थियो । तर, २०१९ देखि २०२३ सम्म बजारमा थुप्रै नयाँ मोडल आए । त्यसमा पनि चिनियाँ ब्राण्डको उपस्थिति निकै बाक्लो रह्यो ।

विशेषतः केही वर्षअघि नै नेपालबाट आफ्नो उत्पादन बिक्री बन्द गराएका ग्रेटवाल, चेरी जस्ता ब्राण्ड पुनः नेपाल आए । यसका अलावा सेरेस, चांगन, नेटा, जीएसी लगायतका ब्राण्ड नेपाल प्रवेश गरे ।

अहिले तीव्र प्रतिस्पर्धा रहेको विद्युतीय कारको ५ वर्षलाई केलाउने हो भने ५ नयाँ मोडलले बाजी मारेका छन् ।यहाँ हामीले तिनको चर्चा गरेका छौं ।

१. हुन्डाइ कोना 

ev-car-with-high-performance

सन् २०१९ मा सबैभन्दा चर्चा कमाएको मोडल हो हुन्डाई कोना । सुरूआतमा नै सोचेभन्दा धेरै माग भएपछि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले यसको सप्लाई समेत गर्न सकेको थिएन ।

क्रसओभर डिजाइन, ३०० किलोमिटर माथिको रेन्ज र ५२ लाख हाराहारी मूल्य रहेको कोना अहिले पनि बजारमा राम्रो बिक्री भइरहेको मोडल हो । तर, मूल्य बढेसँगै र अन्य प्रतिस्पर्धी थपिएसँगै यसको बजार विस्तार कमजोर हुँदै गयो । त्यसैले सन् २०१९ कोनाको वर्ष थियो भन्दा फरक पर्दैन ।

२. एमजी जेडएस ईभी 

सन् २०१९ को अन्तिममा नेपाल आएको एमजी जेडएस ईभीले २०२० आफ्नो नाममा लेखायो । निकै आकर्षक बडी डिजाइन, २७५ किलोमिटर हाराहारी रेन्ज र १७५ एमएम ग्राउन्ड क्लियरेन्स भएको कारण यसले सुरूमा नै ग्राहकको मन जित्न सफल भयो ।

५१ लाख मूल्य राखेर आएको र त्यही बेला कम्प्याक्ट एसयूभी सेग्मेन्ट चल्तीमा रहेको कारण सन् २०२० एमजीले आफ्नो नाममा लेखाउन सफल भयो । त्यसपछि पनि राम्रो बिक्री हुने मोडल मध्येमा पर्दै आएको एमजी जेडएस ईभी एक सदावहार सफल मोडल हो ।

३. टाटा नेक्सन ईभी 

टाटाले आफ्नो सब फोर मिटर एसयूभी नेक्सनलाई ईभीमा ल्याएसँगै नेपालमा चमत्कारिक व्यापार गर्न सफल भयो । नेक्सन ईभी बजारमा आएसँगै सिप्रदी ट्रेडिङले प्यासेन्जर कार बजारमा आफूलाई बलियो बनायो । सन् २०२१ मा नेपाल आएको नेक्सन ईभीले धेरै अटो पण्डितहरूलाई चक्मा दियो ।

उच्च ग्राउन्ड क्लियरेन्स, पेट्रोलको तुलनामा १३ लाखसम्म कम मूल्य र सुरूमा नै चार्जिङ पूर्वाधार निर्माण गरेर सिप्रदीले दिएको सन्देशले नेक्सन ईभीलाई अब्बल बनायो । अहिले काठमाडौं लगायतका सहरमा सबैभन्दा बढी देखिने ईभी नै नेक्सन हो ।

४. बीवाइडी एटो थ्री 

सन् २०२२ को अन्तिम तिर नेपाल आएको एटो ३ अहिलेको सबैभन्दा हटकेक मोडल हो । नेपाल प्रवेश गरेको छोटो समयमा नै ८०० यूनिट एटो ३ सडकमा गुड्न थालिसकेका छन् ।

वीवाइडीको ग्लोबल मोडल, उत्कृष्ट सुरक्षा फिचर र ४०० किलोमिटर माथिको रेन्जका कारण एटो ३ चढ्न चाहने दिनदिनै बढिरहेका छन् । त्यसका अलावा बीवाइडीको ब्लेड ब्याट्रीको चर्चाले पनि यसको बिक्रीमा निकै ठूलो सहयोग पुगेको छ ।

५. टाटा टियागो ईभी 

 टाटा टियागो पनि नेपालको लागि रेकर्ड ब्रेकर मोडल भएर आयो । नेपाल आएको केही दिनमा नै करिब ६०० यूनिट टियागो ईभी बिक्री भइसकेको छ ।

फ्यामली ह्याचब्याक, २२ लाखदेखि २८ लाख रुपैयाँसम्मको मूल्य भएकै कारण यसले छोटो समयमा निकै धेरै चर्चा पाउन सफल भएको हो ।

 


Back_to_top