महिन्द्राको अबिश्वसनिय यात्रा, स्कर्पियोको नयाँ रेकर्ड

काठमाडौं । महिन्द्रा नेपालमा धेरैले नाम लिने सफल ब्राण्ड हो । नेपालका पहाडी बाटाहरुमा यसको पर्फमेन्स हामी सबैले देखेकै छौं । सन् २०२१ को सुरुवातसम्म मासिक ९ देखि १६ हजार यूनिट प्यासेन्जर गाडी बिक्री गर्ने महिन्द्रा दुई वर्षमा नै मासिक ४० हजारभन्दा बढी गाडी बिक्री गर्न सक्ने अवस्थामा पुगेको हो ।

महिन्द्रा भारतीय एसयूभी एक्सपर्टको नामले पनि चिनिन्छ । भारतमा ठूला एसयूभी र खराबभन्दा खराब बाटामा चलाउन मिल्ने गाडी बनाएर उसले आफुलाई अब्बल सावित गरिसकेको छ ।

सन् २०२२ र २०२३ मा नै महिन्द्रा सर्वाधिक ग्रोथ गर्ने ग्लोवल ब्राण्ड मध्येको एक हो । कम्पनीले यी दुबै वर्ष आफ्नो नयाँ उत्पादनको साहारामा अबिश्वसनीय ग्रोथ पाउन सफल भएको हो ।

महिन्द्राको सबैभन्दा ठूलो स्ट्रेन्थ भनेको स्कर्पियो हो । अहिले पनि ब्राण्डकै सर्वाधिक बिक्री हुने मोडलमा स्कर्पियो पर्छ । कम्पनीले स्कर्पियोलाई क्लासिक र एन गरी दुई पृथक डिजाइन, फिचर र इन्जिनमा यसलाई बिक्री गर्दै आएको छ ।

स्कर्पियो एनले भारतमा बेजाड बिक्री पाइरहेको छ । कम्पनीले दुबै स्कर्पियो मिलाएर अक्टोबर महिनामा मात्रै १३ हजारभन्दा बढी यूनिट स्कर्पियो बिक्री गर्दै नयाँ रेकर्ड बनाएको हो । दुई वर्षअघि ब्राण्डको कुल मासिक बिक्री अहिले स्कर्पियो एक्लैले भेट्टाएको देखिन्छ ।

नयाँ मोडलको बलियो साथ

सन् २०२१ अघि स्कर्पियो, बोलेरो र थार जस्ता गाडी एसयूभी सेग्मेन्टमा बिक्री गर्दै आएको महिन्द्राले सन् २०१९ मा एक्सयूभी ३०० र २०२० नयाँ जेनेरेशन थार बजारमा ल्याएर आफु बलियो निर्माता रहेको जनाउ दियो ।

त्यसपछि कम्पनीले एक्सयूभी ७०० र स्कर्पियो एन बजारमा ल्याएर एसयूभी सेग्मेन्टमा थुप्रै छनोट दियो । मूल्यका हिसावले निकै आकर्षक तथा फिचरका हिसावले अब्बल भएकै कारण एक्सयूभी ७०० र स्कर्पियो एनले ग्राहकलाई आकर्षित गर्न सफल भए ।

आगामी दिनको लागि विद्युतीय एसयूभी उत्पादनमा पनि आफु निकै आक्रमक बन्ने संकेत दिदै महिन्द्राले एक्सयूभी ४०० ईभी भारतमा बिक्री सुरु गरिसकेको छ । अब उसले ४ नयाँ मोडल सन् २०२६ सम्ममा बजारमा ल्याउने तयारी अगाडि बढाएको छ ।

भारतमा उछाल, नेपालमा केही सुस्त

भारतीय बजारमा बिक्रीको मामलामा उछाल पाइरहेको महिन्द्रा नेपालमा भने केही सुस्त छ । भारतमा मासिक ५१ हजार हजार यूनिटभन्दा बढी बुकिङ पाइरहेको कम्पनीले जनाएको छ ।

कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार अझै २ लाख ८६ हजार ग्राहकलाई गाडी हस्तान्त्रण गर्न बाँकी छ । जुन कम्पनीको कम्तीमा ६ महिनाको उत्पादन हो ।

कम्पनीका अनुसार एक्सयूभी ३०० र ४०० को बुकिङ १० हजार यूनिट रहेको छ । त्यस्तै एक्स्यूभी ७०० को बुकिङ ७० हजार, थार ७६ हजार, बलेरो र स्कर्पियो मिलाएर १ लाख १९ हजार ग्राहक गाडी कुरेर बसेका छन् ।

नेपालमा समग्र कारको बिक्री नै निकै कमजोर बन्दै गएको छ । त्यसमा पनि ईभीको बिक्री ६० प्रतिशत माथि रहेको छ । त्यसको असर महिन्द्राको बिक्रीमा पनि परिरहेको छ ।

अब छिट्टै कम्पनीले इलेक्ट्रीक एसयूभी बजारमा ल्याउने तयारी गरेको छ । त्यसले बजारमा कस्तो प्रभाव जमाउला हेर्न बाँकी नै रहेको छ ।


Back_to_top