काठमाडौं । ओविन इलेक्ट्रीक स्टार्ट अप कम्पनीले मोटरसाइकल ल्याउने भएको छ । भारतको बैंङलोरमा रहेको कम्पनीले ४ नयाँ मोडल ल्याउने घोषणा गरेको हो ।
कम्पनीले ल्याउने पहिलो मोडल मोटरसाइकल हुने छ । उक्त मोटरसाइकलले एक पटकको फुलचार्जमा २०० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दावी छ । सन् २०२० मा नै ओविन इलेक्ट्रीकले आफ्नो नयाँ इलेक्ट्रीक सवारीसाधन बजारमा आउने जनाएको थियो । पहिलो मोडलको विक्री सुरु भएको ६ महिनापछि कम्पनीले अर्को नयाँ मोडल बजारमा ल्याउने जनाएको छ ।
कम्पनीले अर्को महिनाबाट भारतमा विक्री सुरु गर्ने तयारी गरेको ओविन इलेक्ट्रीक बाइक बेल्ट ड्राइभमा आधारित हुने छ । यसमा दिइएको व्याट्री साइज र मोटर पावरको विषयमा कम्पनीले कुनै जानकारी बाहिर ल्याएको छैन ।

यद्यपी, कम्पनीले यसको टप स्पीड १०० किलोमिटर प्रतिघन्टा र सून्यदेखि ४० किलोमिटरको स्पीड केवल ३ सेकेन्डमा भेट्टाउने जनाएको छ । यसमा रहेको लिथियम आयोन व्याट्रीलाई केबल २ घन्टामा घरायसी विजुलीबाट फुल चार्ज गर्न सकिने कम्पनीको दावी छ ।
ओविन इलेक्ट्रीक बाइक ‘ट्रेल्स फ्रेम’मा तयार हुने तथा अगाडि टेलिस्कोपीक फर्क र पछाडि मोनोशक सस्पेन्स रहने छ । दुबै चक्कामा डिस्क ब्रेक, अलोय ह्वील, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, स्मार्टफोन कनेक्टीभीटी जस्ता फिचर यसमा पाउन सकिन्छ ।
कम्पनीले नियो रेट्रो डिजाइनमा तयार गरेको यो मोटरसाइकलमा गोलो आकारको एलइडी हेडल्याम्प, स्प्लीट सिट, मध्यभागमा दिइएको फुटपेग, अपराइड ह्याण्डलबार यसमा दिएको छ ।
भारतीय बजारमा १ लाख २० हजार मूल्यसहित यो इलेक्ट्रीक मोटरसाइकलको विक्री सुरु हुने अपेक्षा गरिएको छ । यदि भारतमा यो मूल्यमा आउने र नेपाल ल्याउने हो भने यो मोटरसाइकलको मूल्य २ लाख ८५ हजार हाराहारी पर्ने देखिन्छ ।


