काठमाडौं । भारतमा एकैदिन एक लाख यूनिट बुकिङ लिएर चर्चा कमाएको इलेक्ट्रीक स्कुटर ओलालाई चुनौती दिन नयाँ कम्पनी सिम्पल तयार भएको छ ।
अगष्ट १५ तारिखमा सार्वजनिक भएका यी दुबै ब्राण्ड बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । अगष्ट १५मा सार्वजनिक भए पश्चात् बुकिङ खोलेको सिम्पल वानले ४ दिनमा ३० हजार यूनिटभन्दा धेरै बुकिङ लिएको जनाएको छ ।
ओला विश्वकै ठूलो इलेक्टीक उत्पादक बन्ने योजनासहित अगाडि बढेको कम्पनी हो भने सिम्पल एक पटकको फुल चार्जमा धेरै रेञ्ज प्रदान गर्ने स्कुटर निर्माता हो । यस्तोमा यी दुई ब्राण्डको प्रतिस्पर्धा निकै रोचक हुने अनुमान गर्न सकिन्छ ।
सिम्पल वान
सिम्पल इनर्जीले सार्वजनिक गरेको ‘सिम्पल वान’ धेरै रेन्ज प्रदान गर्ने इलेक्ट्रीक स्कुटर हो । सिम्पल वानलाई आइडीसी मोडमा राखेर चलाउँदा फुलचार्जमा २३६ किलोमिटर रेञ्ज दिने कम्पनीको दावी छ । यसले इको मोडमा भने २०३ किलोमिटर रेञ्ज दिने कम्पनीले जनाएको छ ।

सिम्पल वानको उच्चगति क्षमता १०५ किलोमिटर प्रतिघन्टा रहेको छ । कम्पनीका अनुसार सिम्पल वान ३.६ सेकेन्डमा ०-५० किलोमिटर प्रतिघन्टको स्पीडमा कुद्न सक्छ । यो स्कुटरमा ४.८ किलोवाटको लिथिएम आयोन व्याट्री प्याक रहेको छ । यसले ९.४ हर्सपावर तथा ७२ एनएम टर्क जेनेरेट गर्छ ।
त्यस्तै यो स्कुटरमा ७ इन्च डिस्प्ले, नेभिगेशन, ब्लुटुथ जस्ता फिचर रहेको छ । भने यसमा डिट्याचेवल ब्याट्री प्याक रहेको छ । यो स्कुटरमा अन्डर सिट ३० लिटरको क्षमता रहेको छ । यसको भारतमा मूल्य १ लाख १० हजार रुपैयाँ रहेको छ ।
ओला
ओला एस वानले एक पटकको फुलचार्जमा १२१ किलोमिटर रेन्ज प्रदान गर्छ भने यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टा रहेको छ । त्यस्तै एसवान प्रोले एक पटकको फुलचार्जमा १८१ किलोमिटर रेन्ज प्रदान गर्छ । यसको टप स्पीड ११५ किलोमिटर प्रतिघन्टा रहेको छ ।

यी स्कुटरमा रिभर्स मोड, हिल होल्ड, क्रुज कन्ट्रोल, ७ इन्च टचस्क्रीन जस्ता फिचर रहेको छ । ओला एस वानको भारतमा मूल्य १ लाख (एक्स सोरुम) र एस वान प्रोको मूल्य १ लाख ३० हजार भारतीय रुपैयाँ तोकिएको छ ।
नेपाली बजारमा पछिल्लो समय इलेक्ट्रीक सवारी साधन ल्याउने लहर नै चलेको छ । साना कम्पनी तथा नेपालका ठूला व्यापारीक घरानाहरु समेत इलेक्ट्रीक स्कुटर ल्याउन लागि परेका छन् । यस्तोमा विश्व बजारलाई नै प्रभावित पार्नेगरी आएका यी दुई ब्राण्ड चाँडै नेपाल आउन सक्ने छन् ।

